Friday, September 7, 2012

अमेरिकाले एमाओवादीलाई आतंककारी सूचीबाट हटायो

काठमाडौ, भाद्र २१ -
अमेरिकाले एमाओवादीलाई आतंककारी सूचीबाट बिहीबार हटाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार वासिङ्टन डीसीबाट विज्ञप्ति जारी गरी आतंककारी गतिविधिमा संलग्न नभएको पाइएकाले सूचीबाट हटाएको बताएका छन् ।

'विदेश मन्त्रालयले माओवादीलाई आतंककारी सूचीबाट हटाएको छ,' विज्ञप्तिमा उल्लेख छ । अमेरिकाले माओवादीबाट आफू र आफ्नो विदेश नीतिमा खतरा नभएको समेत जनाउँदै शान्तिपूर्ण बाटोमा प्रतिबद्ध हुनसमेत आग्रह गरेको छ ।

'मन्त्रालयले गहन समीक्षापछि माओवादी अमेरिका र यसको विदेश नीतिप्रति खतरा हुने गतिविधिमा संलग्न नभएको पाइएकाले यो निर्णय गरेको हो,' विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, 'यसका अतिरिक्त माओवादी निर्वाचित भइसकेपछि गठबन्धन सरकारको नेतृत्व गर्दै आतंककारी गतिविधिका हतियारहरू अलग हुन कदम चालेको छ । उसले नेपालमा शान्ति र मेलमिलापका लागि प्रतिबद्धतासमेत प्रदर्शन गरेको छ ।'

शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको ६ वर्षपछि र दोस्रोपटक सरकारको नेतृत्व गर्दामात्र एमाओवादीलाई अमेरिकाले आतंककारी सूचीबाट हटाएको हो । अमेरिकी विदेश मन्त्रालयले सशस्त्र द्वन्द्वका बेला २०५९ सालमा माओवादीलाई आतंककारी निगरानी सूचीमा राखेको थियो, जब उसले अमेरिकी दूतावासमा कार्यरत दुई नेपाली सुरक्षा गार्डको हत्या गर्‍यो ।

अमेरिकाले आतंककारीको सूचीबाट हटाए पनि माओवादीले विगतमा गरेका हिंसात्मक गतिविधि नबिर्सने जनाएको छ ।

'आज सूचीबाट हटाए पनि उसका विगतका हिंसा भुलिँदैन,' विज्ञप्तिमा भनिएको छ । तर आफूहरूले अब माओवादी पार्टी शान्तिपूर्ण, लोकतान्त्रिक राजनीतिक वार्तामा संलग्न भएको हेर्न चाहेको अमेरिकाले जनाएको छ ।

विज्ञप्तिमा अमेरिकाले आतंककारी गतिविधि समाधान गर्ने समूहहरू आतंककारी सूचीमा सधैं रहिरहन आवश्यक नभएको उल्लेख छ । 'ती समूहहरू आतंककारी सूचीमा रहिरहनु जरुरी छैन,' विज्ञप्तिमा उल्लेख छ, 'उनीहरूले शान्ति र मेलमिलापप्रति विश्वसनीय प्रतिबद्धता जनाउनुपर्छ ।'

 यो कदमपछि अमेरिकाले माओवादीको कुनै पनि सम्पत्तिमाथि बन्देज नलगाउने समेत स्पष्ट गरेको छ । 'यो कार्यसँगै माओवादीको अमेरिकामा भएको सम्पत्ति नियन्त्रणमा लिने वा बन्देज लगाइने छैन,' विज्ञप्तिमा उल्लेख छ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री रबर्ट ओ ब्लेक नेपालको पछिल्लो राजनीतिक वस्तुस्थिति बुझ्न आगामी सोमबार काठमाडौं आउनुअघि वासिङटनले सत्तारूढ एमाओवादीलाई आतंककारी सूचीबाट हटाएको हो । नवनियुक्त अमेरिकी राजदूत पिटर बोड्डे पनि शनिबार काठमाडौं आइपुग्दै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुईदिने भ्रमणमा आउन लागेका ब्लेकले प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । अमेरिकी सहयोगका विकास कार्यक्रमबारे जानकारी लिएपछि ब्लेकले मंगलबार उद्यमी/व्यापारी टोलीसँग भेटवार्ता गर्नेछन् ।




लोकतन्त्रको बाटोमा अघि बढ्न थप सहज: प्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौ, भाद्र २१ -
प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टीलाई अमेरिकाले आतंककारी सूचीबाट हटाउनु सकारात्मक भएको भन्दै शान्ति, संविधान र लोकतन्त्रको बाटोमा अगाडि बढ्न थप सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

सूचीबाट हटेलगत्तै कान्तिपुरसँग कुरा गर्दै प्रधानमन्त्रीले शान्ति प्रक्रियामा आइसकेपछि आफ्नो पार्टीले शान्ति, संविधान र लोकतन्त्रप्रति गरेको प्रतिबद्धताबारे थप पुष्टि भएको बताए । 'हामीले शान्ति प्रक्रियामा आइसकेपछि शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिबद्धता जनाएका थियौं । यो कुराको पुनः पुष्टि भएको छ,' उनले भने, 'हामीले बारम्बार गरेको आग्रह स्वीकार गरी सूचीबाट हटाएको आज -बिहीबार) जानकारी पायौं, यो सकारात्मक हो ।'

अमेरिकाले आतंककारी सूचीबाट विधिवत् रूपमा हटाएपछि पार्टीको लोकतन्त्रप्रतिको प्रतिबद्धता सत्य सावित भएको जनाए । 'यसबाट शान्ति, संविधान र लोकतन्त्रको बाटोमा अगाडि बढ्न सहयोग पुग्छ,' प्रधानमन्त्रीको भनाइ थियो, 'हामीले शान्ति प्रक्रिया, संविधानसभा निर्वाचनमा सबभन्दा ठूलो पार्टी भएर सरकारको नेतृत्व गरिसकेका छौं । सूचीबाट हटाउन केही ढिलाइ भएको थियो ।' उनले एमाओवादीप्रति अझै आशंका गर्नु गलत हुनेसमेत जनाए । 'सत्ता कब्जाको अझै आशंका गर्नु गलत हुन्छ,' उनले भने, 'एमाओवादीप्रति लोकतान्त्रिक प्रतिबद्धताप्रति आशंका गर्नु हँुदैन ।


प्रकाशित मिति: २०६९ भाद्र २२ ०८:५४

No comments: