Friday, August 3, 2012

एमाओवादी महाधिवेशन समिति २५१ सदस्यीय

काठमाडौ, श्रावण १८ -
एमाओवादीले लामो कसरतपछि २ सय ५१ सदस्यीय 'जम्बो' महाधिवेशन आयोजक समिति गठन गरेको थियो । बुधबार अध्यक्ष पुष्पकमल दाहालले १ सय ७५ सदस्यीय समितिको प्रस्ताव भएपछि मधेसीलगायतका नेताहरूले असन्तुष्टि जनाएका थिए । बिहीबार निवर्तमान केन्द्रीय समिति बैठकले २ सय ५१ पुर्‍याएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बेलुका बसेेको बैठकले प्रस्तावित करिब एक हजारको सूचीबाट २ सय ५१ जना छानेको हो । त्यसमध्ये २ सय ३१ जनाको अनुमोदन भएको र बाँकी २० जना अबको बैठकले चयन गर्ने प्रवक्ता दीनानाथ शर्माले बताएका छन् । यसअघि मोहन वैद्य अलग भएपछि एमाओवादीको केन्द्रीय समिति १ सय ३ सदस्यीय थियो । बुधबारको बैठकमा मधेसी नेताहरूले आवश्यक नेता नपरेका भन्दै विरोध जनाएका थिए । बिहीबार दाहाल र उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले गृहकार्य गरी मधेसी, महिला, दलित नेताहरूको संख्या थप्ने निष्कर्ष निकालेका थिए ।

पोलिटब्युरो सदस्य अग्नि सापकोटाले विस्तारित समितिमा महिला, मधेसी र दलित नेतालाई महत्त्व दिइएको बताए । 'महाधिवेशन आयोजक समितिमा महिलाबाट ३१, मधेसीबाट १३ र दलितबाट ९ जना थपिएको छ,' उनले कान्तिपुरसँग भने, 'विस्तारित बैठकले गरेका निर्णय कार्यान्वयन गर्न समिति विस्तार गरिएको हो ।' उनले लामो गृहकार्यपछि नेताहरू चयन भएको बताए । 'यो नगरेका भए विस्फोटक अवस्था हुन्थ्यो,' उनको भनाइ छ, 'यसले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।'

थपिएका नेताहरूमा पूर्वसभामुख पूर्णकुमारी सुवेदी, शालिकराम जमरकट्टेल, हरि रोका, खिमलाल देवकोटा, हिमाल शर्मा, चन्द्रबहादुर थापा, सूर्यमान दोङ, बुद्धिमान माझी, रणेन्द्र बराइली, विमला सुवेदी, चित्रबहादुर श्रेष्ठ, धर्मशीला चापागाईं, कल्पना धमला, सत्य पहाडी, मीना तामाङ, देवी खड्का, सीता पोख्रेल, सरस्वती चौधरी, देवेन्द्र पराजुली, भरत साह, अशोेक जयसवाल, रामचन्द्र मण्डल, घनश्याम यादव, कुवेर ओली, राजकाजी गुरुङ आरसी शर्मा, शरण बाँठा, रेणु चन्दलगायत छन् ।







प्रकाशित मिति: २०६९ श्रावण १९ ०९:१८

No comments: