Sunday, August 12, 2012

कांग्रेसलाई चुनावी सरकार हुँदैन, पुनःस्थापना गर्ने भएचाहिँ हुन्छ : दाहाल

काठमाडौं, श्रावण २८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ले कांग्रेस नेतृत्वमा चुनावी सरकार नस्वीकार्ने बताएका छन् । उनले संविधानसम्बन्धी विगतका सहमति कायम राखी संविधानसभा पुनःस्थापना भए मात्र कांग्रेसको नेतृत्व स्वीकार्ने बताए ।
 उनले जसको नेतृत्वमा सहमति बन्छ, त्यसकै नेतृत्वमा सरकार बन्ने बताए । मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीका नेताहरूमा सहमति नजुटे स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने धारणा राखे ।
 'निर्वाचनमा जाने नै हो भने अब सरकारको नेतृत्व जो कोहीले दाबी गर्न सक्छ । हाम्रो के प्रस्ट मत बनेको छ भने निर्वाचनमा जाने नै हो भने हामी कांग्रेसलाई दिँदैनौं । किन दिने कांग्रेसलाई सरकार ? अरूले किन नपाउने ?' उनले आक्रोशित हुँदै भने, 'त्यसकारण हिजोको पाँचबुँदेको आधार छाडेपछि कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्दैन ।'
 कांग्रेसले एमाओवादी को नेतृत्व नस्वीकार्ने र एमाओवादी ले कांग्रेसको नमान्ने अवस्थामा स्वतन्त्र व्यक्तिलाई चुनावी सरकारको नेतृत्व दिन सकिने उनको तर्क थियो । उनले भने, 'चुनावी सरकारको नेतृत्व नागरिक आन्दोलनका स्वतन्त्र व्यक्तित्व वा पूर्वन्यायाधीशको नेतृत्वमा बनाउन सहमत हुनुपर्‍यो ।'
 वैशाख तेस्रो साता भएको पाँचबुँदे सहमतिअनुसार दलहरूले निकास निकाल्ने कम सम्भावना भएकोसमेत उनले जनाए । 'हेर्दै जाँदा पाँचबुँदेअनुसार सहमति हुन सजिलो देखिएन । पहिचानसहितको संघीयताबारे तीव्र धु्रवीकरण हुँदैछ,' उनले थपे, 'पाँचबुँदेको मर्मअनुसार अघि बढ्न माओवादी तयार छ ।'
 'गोलमेच सभा' को अभ्यासका रूपमा नेकपा-माओवादीले गरेको कार्यक्रममा उनले संविधानसभा म्याद तीन महिना थप्ने विधेयकबारे सर्वोच्चले दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाए । 'सरकारले सार्वभौम हैसियतले संसद्मा विधेयक दर्ता गरेको थियो, के गर्ने भन्नेबारे । त्यो पास भएको थिएन,' उनले भने, 'यस्ता विषयमा स्टे गर्ने अधिकार न्यायालयलाई हुन्छ कि हुँदैन ? यो विषय नेता तथा पार्टीहरूले विचारै नगर्ने हो भने त्यो राजनीति नभई अर्कै केही हुन्छ । यसमा सबैको ध्यान जाओस्, यस्तो गर्न न्यायालयले हुन्छ कि हुँदैन ? छलफलको विषय हुनुपर्छ भन्ने लागेको छ ।'
दाहालले संविधानसभा भंग हुने अवस्थामा निर्वाचन घोषणा गर्नु सरकारको बाध्यता भएको दाबी गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने कुरा नभएको जनाए । 'त्यो अवस्थामा सरकारले निर्वाचन घोषणा गर्नु बाध्यात्मक अवस्था हो । १२ बजेपछि ठूलो दुर्घटनामा जाला भन्ने हामीलाई लाग्यो । राजनीतिक शून्यतामा जाला भन्ने लाग्यो । विकल्प केही नभएपछि सर्वोच्चको निर्णयमा टेकेर निर्वाचन घोषणा गरेको हो,' उनले भने, 'त्यो निर्वाचन घोषणाले राष्ट्रपति र सरकार वैधानिक छन् भनिरहेका छौं । केही समयपछि राष्ट्रपति कार्यालयबाट यो सरकार कामचलाउ भनियो । कामचलाउ सरकारले राजीनामा दिन भन्ने कुरा राष्ट्रपति कार्यालयबाटै टुंग्याइयो,' उनले भने, 'अहिले बाबुरामजीको राजीनामाको कुरा पनि अमिल्दो भइसक्यो । किन राष्ट्रपति कार्यालयबाट यो सरकार कामचलाउ भनेर गल्ती भयो भन्दिनु पर्‍यो । त्यो नभन्ने हो भने यो सरकार केयरटेकरै हो ।'
एमाओवादी को नेतृत्वमा गठन हुन लागेको संघीय लोकतान्त्रिक गठबन्धनजस्तै मोर्चा बनाउन उनले कांग्रेस-एमालेलाई आग्रह गरे । 'मोर्चा कांग्रेस-एमालेले पनि बनाउनु राम्रो हुन्छ । सबैले मोर्चा बनाए हुन्छ, केही फरक पर्दैन,' उनले भने, 'मोर्चा-मोर्चा बनाएर सहमतिमा पुग्न सजिलो हुन्छ ।'
उनले मैदानबाटै हिसाबकिताब चुक्ता गर्न कांग्रेस-एमालेलाई चुनौती दिए । 'रामचन्द्रजीले भर्खरै लडाइँ लड्ने कुरा गर्नुभयो,' कार्यक्रममा कांग्रेस उपसभापति पौडेलले प्रजातन्त्रका लागि लडाइँ लड्ने चेतावनी दिएपछि दाहालले प्रतिवाद गरे, 'लडाइँ शब्ददेखि त म डराउँदिनँ, मोर्चाको अर्थ फेरि जरुरी परे आन्दोलन गर्ने पनि हुन्छ, तपाईंहरू पनि गर्नुहोस् हामी पनि गर्छौं, कसले जित्छ मैदानबाटै हिसाबकिताब हुन सक्छ ।'
कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले संविधानका बाँकी विषयमा सहमति गरी अघि बढ्नु पर्ने बताए । त्यसका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको उनको भनाइ थियो । 'विगतका सहमतिलाई गाँठो पारेर नमिलेका विषयमा सहमति गर्नुपर्छ,' उनले भने, 'राष्ट्रिय सहमतिको सरकार बनेपछि त्यो सम्भव छ ।' उनले दलहरूबीच अविश्वासको अवस्था चुलिँदै गएको बताए ।
कांग्रेस उपसभापति पौडेलले दलहरूबीच यसअघि भएका सहमतिका बीचबाटै नयाँ सहमति खोजिनुपर्ने बताए । उनले सत्तारूढ दलले संघीयताका नाममा गठबन्धन बनाउनु राजनीतिक बेइमानी भएको आरोप लगाउँदै यसले दलहरूबीचको अविश्वास बढाउने धारणा राखे ।
 नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै संविधानसभा पुनःस्थापना र अर्को संविधानसभा निर्वाचन गर्न खोज्नु 'प्रतिगामी कदम' हुने दाबी गरे । 'संविधानसभा भंग गरी संीवधानसभाको दोस्रो निर्वाचन गर्ने कदमलाई असंवैधानिक र पश्चगामी भनिरहेको स्थितिमा व्यवस्थापिका संसद्को निर्वाचनको कदम झन् प्रतिगामी हुनेछ,' उनले भने, 'यसले मुलुकमा सहमतिको यात्रा भंग गरेर पुनः द्वन्द्वमा फर्काउने छ ।'  उनले गोलमेच सभा गरी राजनीतिक निकास निकाल्नुपर्ने उल्लेख गर्दै अन्तरिम संयुक्त बनाउनुपर्ने प्रस्ताव राखे । पार्टी विभाजनपछि आयोजना गर्न लागेको कार्यक्रममा निम्ता दिन वैद्य शुक्रबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगेका थिए । कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राजनीतिक विवाद छोट्टयाएर छिटो संक्रमणकाल अन्त्य गर्नुपर्ने धारणा राखे ।

नेकपा-माओवादीले शनिबार ललितपुरमा आयोजना गरेको गोलमेच भेलामा विभिन्न दलका शीर्षनेताहरू ।

No comments: