Wednesday, August 22, 2012

लडाकु शिविरमा भएको अनियमितताको छानविन सुरु


काठमाडौं, भाद्र ७ - माओवादी पुर्वलडाकु शिविरमा भएको अनियमितता सम्बन्धी पार्टीको छानविन आयोगले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले सातवटै सिविरबाट प्राप्त खर्च विवरणको प्रारम्भिक अनुसन्धान सुरु गरेको हो । पहिलो चरणमा सात वटा डिभिजन भएको खर्चबारे छानविन सुरु भएको र दोस्रो चरणमा २१ सहायक सिविरको हिसाव हेरिने आयोग स्रोतले जनाएको छ । लडाकु शिविरको भौतिक पुर्वाधार निर्माण, भरणपोषण र तलबभत्तागरी १० अर्बभन्दा बढी रकम खर्च भएको थियो । आयोगले लडाकु कमान्डरमार्फ्त खर्च भएको रकमको छानविन गर्ने म्यान्डेट पाएको छ ।
साउन पहिलो साता राजधानीमा सम्पन्न सातौ विस्तारित बैठकमा पुर्व लडाकुका शिविरमा करौडौ भष्टाचार भएको भन्दै पुर्व लडाकुले बैठक अवरुद्ध गरेपछि एकीकृत माओवादीले सचिब पोष्टबहादूर बोगटीको संयोजकत्वमा आयोग बनाएको थियो । एक महिना समय पाएको आयोगले ढिला गरी काम सुरु गरेका कारण अर्को एक महिना समय बढाइने भएको छ ।
राजधानीको कपनमा मंगलबार भएको ताम्सालिङ राज्य समितिको प्रशिक्षणमा लडाकु शिविरभित्र भएको आर्थिक अनियमितताबारे छानविन ढिलाइ भइरहेकोमा सहभागीले आपत्ति जनाएका थिए । 'शिविरभित्र भ्रष्टाचारको छानविन किन ढलाइ भइरहेको छ ?' सहभागीको प्रश्न थियो, 'छानविन ढिलाइले भ्रष्टाचारीलाई चोख्याउने आशंका बढेको छ ।'
प्रशिक्षणमा अध्यक्ष पूष्पकमल दाहालले आयोगले छिट्टै काम अघि बढाउने उल्लेख गर्दै आयोगको म्याद १५ दिन थप्नूपर्ने बताएको एक सहभागीले जानकारी दिए । 'नेताहरुको सम्पत्ति आयोगले आफ्नो काम करिब सक्न थालेको छ' उनको भनाइ थियो, 'अब शिविरको अनियमितता सम्बन्धमा आयोगले काम अघि बढाउँछ ।' आर्थिक अनियमितता छानविन गर्न आयोग गठन भएको उल्लेख गर्दै दोषी देखिए जोकोहीलाई पनि कार्वाही हूने बताए । 'सत्यतथ्य छानविन गरी कार्बाही गर्न आयोग बनाइएको हो' उनले भने, 'दोषी देखिए जो कोहीलाई पनि कार्वाही हून्छ ।'
शिविरको अनियमितता छानविनमा ढिलाइ भएकोमा पुर्व लडाकुले आपत्ति जनाएका थिए । शिविरको भ्रष्टाचार छानविन गर्न माग गर्ने अगूवा पुर्वलडाकु कमान्डर सरल सहयात्री पौडेलले छानविन ढिलाइ भएको बताए । 'छानविन ढिलाइ भएको छ, हामीले कूरा उठायौ । आयोगले काम गरिरहेको होला' उनले भने, 'छिटो छानविन हूनूपर्छ ।'
सरकारका तर्फबाट लडाकुको शिविरको भौतिक पुर्वाधार निर्माण, लडाकुको भरणपोषण र तलबभत्ताबाट करिब १० करौड रुपैया भ्रष्टाचार भएको उनले दाबी गरे । 'करिब १० करोड भ्रष्टाचार भएको अनूमान छ' उनले भने, 'योभन्दा पनि बढी भ्रष्टाचार भएको हून सक्छ ।' त्यसबेला माओवादीले लडाकुबाट वाइसीएलमा आएकाहरुलाई दिने भन्दै प्रतिलडाकु एकहजारका दरले उठाएको थियो । त्यो रकम पनि अनियमितता भएको उनको आरोप छ ।
सातौ विस्तारित बैठकाम कमान्डहरुमाथि भ्रष्टाचारको आरोप लागेपछि पुर्व लडाकुका ६ जना डिजिभन र एक सहायक डिभिजन कमान्डरले राजीनामा दिएका थिए । उनीहरुले आफुहरुलाई 'बलीको बोका बनाइएको' भन्दै नेताहरु आफुहरु 'पानीमाथिको ओभानो हून खोजेको' बताए । 'कमान्डरहरुलाई भ्रष्टाचारीको आरोप लगाएर हामीलाई बलिको बोका बनाउने प्रयास भयो' एक असन्तूष्ट लडाकु कमान्डरले भने, 'हामीलाई शिकार बनाइयो भने हामी पनि त्यसबेला बोल्नूपर्ने हून्छ ।'
पुर्व लडाकु कमान्डहरुले शिवरका गाडी समेत आफ्नो नाममा गरेको एक पुर्व लडाकुले जानकारी दिए । यूद्धकालमा प्रयोग भएका गाडी एमाओवादीले पार्टीको नाममा गरेको उल्लेख गर्दै उनले पुर्व लडाकु कमान्डहरुले भने धमाधम आफ्नो नाममा बनाई प्रयोग गरेको उनलदे आरोप लगाए ।
चितवन शक्तिखोरस्थित तेश्रो डिभिजनमा सबभन्दा धेरै अनियमितता भएको छानविन माग गर्ने पुर्वलडाकुहरुको दाबी छ । तेश्रो डिभिजन कमान्डर धनबहादूर मास्कीमाथि हिसाबकिताब अनियमितता गरेको आरोप उनीहरुले लगाएका छन् । 'तेश्रो डिभिजनमा धेरै अनियमितता भएको छ' पौडेलले भने, 'धेरै, थोरै अरु डिभिजनमा पनि भएको छ ।'

प्रकाशित मिति: २०६९ भाद्र ७ १२:२७

No comments: