Saturday, August 25, 2012

वैद्यको विद्या

नेपालको कम्युनिस्ट राजनीतिमा 'एमबी' भन्ने नाम निकै चर्चित छ । नेपालका कम्युनिस्टका केही माउमध्येका एउटा माउ कमरेड मोहनविक्रम सिंहलाई यो नामले चिनिन्छ । अहिलेको राजनीतिक मैदानमा उनैले जन्माएका कमरेडहरूको हालिमुहाली छ । सानो अनुहारमा ठूलो प|mेमको चस्मा लगाउने अर्का एमबी अर्थात् मोहन वैद्यको भने कुरा बेग्लै छ । एउटै जिल्ला प्यूठानमा उत्पत्ति भए पनि यी दुई एमबीमा धेरै अन्तर छन् ।

नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यको थर पोख्रेल हो । तर उनी वैद्य थरले चिनिन्छन्, पार्टीभित्र किरण नामले । पहिले माओवादीभित्र 'हार्डलाइनर' का रूपमा चिनिन्थे । दर्शन र सौन्दर्यशास्त्रका पुस्तक उनी 'चैतन्य' नामले लेख्छन् । बल प्रयोग नगरी सत्ता प्राप्त गर्न सकिँदैन भन्ने उनको मूल सिद्धान्त हो । त्यसकारण उनले गत असारमा मूल पार्टी फोरेर आपै+m अध्यक्ष बने ।

तर, अध्यक्ष भएपछि उनी पहिलेजस्तो कडा देखिएका छैनन् । पहिले एमाओवादीमा हँुदा नरमहरूका बीचमा उनी 'हार्डलाइनर' थिए । तर अहिले उनको पार्टीमा कडैकडा नेता छन्, उनी भने नरम । उनी नरमका माझमा कडा रहेछन् र कडाबीच नरम !

नयाँ पार्टी गठन गरेपछि उनी धेरैपटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा पुगिसकेका छन् । सँगै चियाकफी खाएका छन् । कतिचोटि त उनी एक्लै र कहिलकाहीं अन्य नेताहरूसँग । देखिने गरी पार्टी अलग भए पनि प्रचण्ड र वैद्यबीच उत्तिकै भावनात्मक सम्बन्ध छ । केही दिनअघिको भेटमा प्रचण्डलेे वैद्यलाई पार्टी चलाउने खर्चको पनि कुरा गरेछन् । 'पार्टी कसरी चलिरहेको छ, खर्चपर्च के कस्तो छ, अप्ठ्यारै पर्‍यो भने भन्नुहोला' प्रचण्डले सोेधेछन् । वैद्यले खासै समस्या नभएको प्रतिक्रिया दिएछन् । एकता केन्द्र मसालसँग पार्टी एकता गर्नुअघि प्रचण्डले त्यसका महासचिव नारायणकाजी श्रेष्ठलाई पनि पार्टी चलाउन खर्च दिन्थे भन्ने सुनिन्छ ।

केही दिनअघि प्रचण्डले आफ्नो स्वकीय सचिवालयका सदस्यहरूलाई वैद्यबारे कुनै नकारात्मक टिप्पणी नगर्ने निर्देशन दिएछन् । पार्टी अलग भएपछि उनले वैद्यमाथि व्यक्तिगत आरोपसमेत केही लगाएका छैनन् । उनलाई आफ्ना राजनीतिक गुरुको व्यवहार उनले अहिले पनि गर्छन् । राजनीतिक रूपमा मतभिन्नता भए पनि दुई नेताबीच 'कामरेडली' सम्बन्ध देखिन्छ । यही सम्बन्धलाई आधार मानी धेरैले केही समयपछि दुई माओवादी मिल्छन् भन्न थालेका छन् ।

वैद्यले करिब २५ वर्ष भूमिगत र जेल जीवन बिताए, पञ्चायतकालदेखि सशस्त्र युद्धसम्म । अझै पनि उनलाई भूमिगत जीवन प्यारो लाग्छ । नवगठित माओवादीलाई अर्धभूमिगत गराउने तयारी उनले गरेका छन् । त्यसो भयो भने उनी पनि अर्धभूमिगत हुनेछन् । विचारले कट्टर तर उनको कार्यशैली भने नरम छ । वैद्यले शास्त्रीय कम्युनिस्ट दर्शनमा दख्खल राख्छन् । उनले कम्युनिस्ट दर्शन सम्बन्धी दुई ठूला पुस्तक पनि लेखेका छन् । व्यवहारमा नरम र कार्यशैलीमा दृढता हुनुपर्ने मान्यता उनले राख्छन् । उनी आफूलाई 'सादा जीवन उच्च विचार' भएको नेताका रूपमा पुष्टि गर्न चाहन्छन् । अन्तरमुखी स्वभाव भए पनि मनमा लागेको कुरा प्वाक्क भन्ने उनको बानी छ । करिब अढाई वर्षअघि एमाओवादीमै रहँदा प्रमुख दलहरूको प्रत्यक्ष बहस -टीभीहरूले प्रत्यक्ष प्रसारण गरेको) कार्यक्रममा उनले कांग्रेस, एमालेका नेताहरूलाई 'काइते कुरा नगर्नुस्, यसरी सहमति हुँदैन' भनेर झर्केको निकै चर्चा भएको थियो ।

पुख्र्यौली घर प्यूठान र पछि दाङ बसाइ सरेका वैद्यले उच्च शिक्षा संस्कृतमा लिएका थिए । त्यसपछि उनले नेपाली स्नातकोत्तर गरे । एमाओवादीमा रहँदा वैद्य र प्रचण्डबीच मतभेद दैनिक कार्यशैलीमा रह्यो । प्रचण्डको हाइफाई कार्यशैलीप्रति उनले बेलाबेलामा बिमति राख्दै आएका आए । अन्ततः राजनीतिक कार्यदिशामा कुरा नमिलेपछि अलग भए । तर कतिपय प्रचण्डका कुरा उनले हार्न सक्दैनन् भने प्रचण्डले पनि उनको वचन राख्छन् । दुई साताअघि मात्रै वैद्यको पार्टीले आयोजना गरेको पार्टीमा प्रचण्ड सहभागी भए । उनलाई निम्ता दिन वैद्य आफैं प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । रोचक पक्ष के छ भने प्रचण्ड र वैद्यबीच पार्टी अलग भए पनि पार्टीको सम्पत्ति सल्लाहमै बाँडफाँड गर्ने सहमतिसमेत भएको छ । विगतमा कम्युनिस्ट पार्टी अलग भएपछि दुश्मनी साध्ने चलन यी दुई नेतामा छैन । 'जे हुनु भइहाल्यो, अब किन दुश्मनी साध्ने ?' भन्ने समझदारी यी दुई नेताबीच भएको छ । जब कि वैद्यको पार्टीका अन्य नेताहरू प्रचण्डप्रति निकै आक्रामक छन् ।

वैद्यको जीवनशैली 'सर्वहारावादी' छ । उनमा पदको मोह छैन । कतिपयले उनलाई कांग्रेस सभापति सुशील कोइरालाको जीवनशैलीसँग तुलना गर्छन् । पार्टी विभाजनपछि उनी नेकपा-माओवादीको अध्यक्ष हुन चाहेका थिएनन् । उनी सल्लाहकारको रूपमा बस्न चाहेका थिए । माओवादीभित्र अध्यक्ष को हुनेबारे टुंगो लाग्न नसकेपछि उनी बाध्यतावश अध्यक्ष भएका हुन् । संविधानसभा निर्वाचनमा पनि मनोनीत सभासद् भए । दुई वर्ष नपुग्दै राजीनामा दिए । एकताकेन्द्र मसालसँग पार्टी एकता भएपछि 'चैते' हरूको जगजगी भएको भन्दै उनी असन्तुष्ट बनिरहे । उनलाई घर परिवारको खासै चिन्ता छैन । दसौं वर्षदेखि उनको परिवार यसरी नै चलेको छ । उनको सम्पूर्ण जीवन कम्युनिस्ट आन्दोलनमा बितेको छ ।

उमरले ६५ वर्ष नाघे पनि मुलुकमा 'जनवादी क्रान्ति' पूरा गर्ने धोको उनको छ । त्यसैका लागि उनले नयाँ पार्टीसमेत बनाए । नेपालमा अर्को युद्ध नहोस् भन्ने चाहनेका लागि उनी 'अपि्रय' पात्र हुन् । जब उनले युद्ध, जनविद्रोहको कुरा गर्छन्, चिया पसलदेखि रेस्टुरेन्ट, कलेजहरूमा समेत उनको चर्चा हुन्छ । उनी 'युद्धको भूत' चढेको नेतामा दर्ज हुन्छन् । उनमा राजनीतिक इमानदारी त होला तर उनी तत्कालका लागि 'उपयुक्त' हुने कुरा धेरै गर्दैनन् । गोंगबुको भाडाको घरमा बसेर लेखेका राजनीतिक दस्ताबेजले खाटा बसेको युद्धको घाउमा फेरि पीडा थप्ने काम गर्‍यो भने उनको राजनीतिक इमानदारी पनि दस्ताबेजमा सीमित हुन सक्छ । हुन त उनले 'आगोको सानो झिल्कोले सारा वन डढाउँछ' भन्ने दर्शन पढेका छन् । त्यो आगोले वनका सुगन्धित फूल पनि खरानी बनाउँछ भन्ने पाटो उनले कत्तिको केलाएका होलान् ?

वैद्यको रुचिको खेल चेस हो । उनलाई यो खेल खेल्न निकै मन पर्छ । अन्य खेलमा उनलाई चासो छैन । भनिन्छ, राजनीति पनि एउटा चेसको खेल हो । जसले सक्यो, उसले शक्ति लिन्छ । उनले लिएको 'जनविद्रोहको राजनीतिक कार्यदिशा' चेसको खेलजस्तै हो कि अलि फरक हो भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन । नयाँ पार्टी खोलेर उनले नेपाली राजनीतिमा फेरि अर्को सेट चेस सुरु गरेका छन् । उनले आपmना गोटी कसरी चाल्छन् भन्नेमा धेरैको चासो छ । कोठाभित्रको खेलभन्दा राजनीतिको खेल फरक छ भन्नेचाहिँ यी पुराना खेलाडीलाई थाहा छ ।

प्रकाशित मिति: २०६९ भाद्र ९ ०१:४०