Saturday, January 7, 2012

मैले राजीनामा दिने कुरै छैन: प्रधानमन्त्री बाबुराम भट्टराई

गंगा बीसी
काठमाडौ, पुस २३ - 'कसैको कुआकांक्षा पूरा गर्न मैले किन राजीनामा दिने ? राजीनामा दिएर म उनीहरूको स्वार्थ पूरा हुन दिने छैन, जबकि शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढिरहेको छ,' राजधानीमा उनको राजीनामाबारे चर्चा चलिरहँदा प्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार त्यसको कडा प्रतिवाद गर्दै तनहुँबाट फोनमा कान्तिपुरसँग भने, 'मैले यतिबेला राजीनामा दिनु भनेको शान्ति र संविधान निर्माण प्रक्रिया भत्किनु हो ।'
शान्ति र संविधान निर्माण प्रक्रिया अवरुद्ध भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री भट्टराईले राजीनामा दिने चर्चा चलाइएपछि उनले त्यसको कडा प्रतिवाद गरेका हुन् ।
प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा आफूले सपनामा पनि नचिताएको उनले बताए । 'विपनामा त मैले राजीनामा दिने कुरै छैन,' उनले थपे, 'सपनामा पनि म त्यस्तो सोच्दिनँ ।'
आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गर्दै आएका भट्टराईले प्रधानमन्त्रीकै रूपमा शान्ति र संविधान टुंगोमा पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याए । 'मैले राजीनामा दिनु भनेको मुलुकलाई अनिश्चिततातिर धकेल्नु हो,' उनले भने, 'दलहरूबीच राष्ट्रिय सहमति बन्दैछ । म प्रधानमन्त्रीको रूपमा शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गरेरै छाड्छु, यो मेरो प्रतिबद्धता हो । म यो प्रक्रियाबाट भाग्न मिल्दैन ।'
प्रधानमन्त्री भएको दुई सातापछि भट्टराईले शान्ति र संविधान निर्माण प्रक्रिया अघि नबढे आफूले मार्ग प्रशस्त गर्ने बताएका थिए । शान्ति र संविधान निर्माण केही प्रगति भएपछि भने उनले आफूले राजीनामा नदिने अडान राख्दै आएका छन् । मंसिर १३ गते संविधानसभाको म्याद थप्ने बेलामा दलहरूबीच 'अविलम्ब राष्ट्रिय सहमतिको सरकार' गठन गर्ने सहमति गरेका थिए । त्यसपछि त्यस्तो सरकारबारे खास बहस हुन सकेको छैन । अध्यक्ष पुष्पकमल दाहालले सबै परिस्थितिको विश्लेषण गर्दा भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बलियो सम्भावना देखेको कान्तिपुरसँग बताएपछि भट्टराईको मनोबल बढेको देखिन्छ । उपाध्यक्ष मोहन वैद्य पक्षले सरकारबाट फिर्ता आउनुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा गरिसके पनि संस्थापन पक्षले त्यसलाई अस्वीकार गरेको छ ।
दाहाल निकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले तत्काल भट्टराईले सरकार नछाड्ने बताए । 'बाबुरामजीले सरकार छाड्ने अवस्था आइसकेको छैन,' उनले शनिबार भने, 'कुनै सहमति नबनी गैरजिम्मेवार ढंगले राजीनामा दिए अर्को समस्या उब्जिन्छ ।'
उसो भए राजीनामा चर्चा किन ? संविधान निर्माणको शासकीय स्वरूप र लडाकु समायोजन प्रक्रिया अवरुद्ध भएकाले भट्टराई केही निराश भएको अनुमान धेरैको छ । त्यसलाई मानवीय स्वभाव ठान्न मुख्य स्वकीय सचिव गंगा श्रेष्ठ । 'कहिले उत्साह र कहिले निराश हुने मानवीय स्वभाव हो,' उनले भने, 'तर सरकार छाड्ने प्रधानमन्त्रीको मनस्थिति छैन ।' यतिबेला भट्टराईलाई केही अप्ठ्यारो भने अवश्य परेको छ । विशेषगरी शान्ति र संविधान निर्माण प्रक्रिया अवरुद्ध भएकाले प्रतिपक्षबाट सरकारविरुद्ध आवाज उठ्न थालिसकेको छ । 'दुवै प्रक्रियामा केही अप्ठ्यारा अवश्य आएका छन्,' प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, 'ती अप्ठ्यारा चिरेर सहमतिको बनाउने प्रयास जारी छ । सरकार छाडे ती सबै अलपत्र हुन्छन् ।'
'छिट्टै राष्ट्रिय सरकार’
यसैबीच, गृहजिल्ला गोरखा र तनहुँका छुट्टाछुट्टै कार्यक्रममा भट्टराईले 'समय किटान नगरौं' भन्दै छिट्टै अहिलेकै सरकारले सहमतीय राष्ट्रिय सरकारको रूप लिने बताए । 'राष्ट्रिय सरकार शान्ति र संविधान सँगसँगै अघि बढ्छ,' सञ्चारकर्मीसँग उनले भने, 'प्रक्रिया अघि बढेका छन्, समय किटान नगरौं तर मेरै नेतृत्वमा छिट्टै संयुक्त राष्ट्रिय सरकार बन्छ ।' गोरखा उद्योग वाणिज्य संघको ३८ औं साधारणसभा र तनहुँ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनमा आएका प्रधानमन्त्रीले सञ्चारकर्मीसँगको भेटमा एउटै कुरा दोहोर्‍याएका हुन् ।
'विवादित विषयमा समस्या समाधान गर्न पुस २० बाट माघ १५ सम्मको समयसीमा थपिएको छ,' मासिक गृहजिल्ला आउने कार्यक्रमअनुसार ४८ औं पल्ट गोरखा आएका उनले भने, 'सहमतिका लागि सरकार प्रमुखको हैसियतले मैले गृहकार्य गरिरहेको छु ।'
'म यहींको मान्छे हुँ, लेखेर राख्नुस्, मैले बोलेको पूरा भएन भने मलाई इतिहासको कठघारामा उभ्याउनु,' उनले भने, 'मेरो सम्पूर्ण प्रयत्न शान्ति र संविधान पूरा गर्नमा हुन्छ ।' शान्ति र संविधान पूरा गर्न माओवादीले कुनै सर्त खडा नगर्ने पार्टी उपाध्यक्षसमेत रहेका भट्टराईको भनाइ थियो । ठूलो पार्टी भएकाले लचिलो हुँदै  आएको र अब पनि हुने उनको दाबी थियो ।









प्रकाशित मिति: २०६८ पुस २३ ०९:२४

No comments: