Thursday, January 26, 2012

Prachanda played double role ?

काठमाडौ, माघ १३ - माओवादी पदाधिकारी बैठकले 'जनसत्ता' का घरजग्गाबारे मन्त्रिपरिषद्ले गरेको निर्णय सही भएको भन्दै फिर्ता नगर्ने ठहर बिहीबार गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराई निकै अप्ठ्यारोमा परेका छन् । अध्यक्ष पुष्पकमल दाहालले 'जनसत्ता'का बेला किनबेच भएका घरजग्गालाई मान्यता दिने निर्णय सही भएको बताएपछि भट्टराईले आफ्नो सरकार अप्ठ्यारोमा परेको महसुस गरेका हुन् ।
स्रोतका अनुसार व्यापक विरोधपछि भट्टराई 'जनसत्ता' बारे निर्णय सच्याउने मनस्थितिमा पुगिसकेका थिए । तर पदाधिकारी बैठकले त्यो निर्णय फिर्ता लिन नहुने निर्देशन दिएपछि भट्टराई अप्ठेरोमा परेका छन् । 'जनसत्ताको घरजग्गासम्बन्धी निर्णय सही छ र त्यो फिर्ता लिन हुँदैन भन्ने निर्णय भयो,' सचिव सीपी गजुरेलले कान्तिपुरसित भने, 'जनताको समस्या समाधान गर्न गरिएको निर्णय किन फिर्ता लिने ?'
सरकार अप्ठ्यारोमा परेपछि भट्टराईको असन्तुष्टि पार्टी अध्यक्ष दाहालतर्फ लक्षित भएको छ । भट्टराईनिकट एक नेताले दाहाल यतिबेला पार्टीभित्र 'दोहोरो भूमिका' मा रहेको दाबी गरे । उनका अनुसार अध्यक्षले बाहिरी रूपमा शान्ति र संविधानको कुरा गरे पनि उपाध्यक्ष मोहन वैद्यको 'जनविद्रोह' को कार्यदिशा बलियो पार्ने काम गरेका छन् । 'जनताको संघीय गणतान्त्रिक संविधानको निर्माण र सम्मानजनक सेना समायोजनमा षड्यन्त्र भए' जनविद्रोहको तयारी गर्ने वैद्य पक्षको कार्यदिशा हो । पछिल्लो केन्द्रीय समितिमा त्यसलाई दाहालले समर्थन गरेका थिए । त्यसले कांग्रेस, एमालेलगायत प्रतिपक्षमा आशंका बढाइदिएको छ ।
वैद्य पक्ष भट्टराई नेतृत्वको सरकार ढाल्ने खुला अभियानमा छ । भट्टराई पक्षले दाहाल पनि त्यसमा सामेल भएका त होइनन् भन्ने शंका गर्न थालेको छ । यही साता एमाले नेता माधव नेपालसँगको 'अन्तरंग' कुराकानीमा दाहालले आफूले बनाएको सरकारको विरोध गर्न नमिल्ने बताएका थिए । उनले 'सरकारबारे विरोध गर्ने अधिकार प्रतिपक्ष' को भन्दै सरकारप्रति असन्तुष्टि पोखेका थिए । सरकारलाई परेको अप्ठ्यारो सल्ट्याउन दाहालले खासै पहल नगरेपछि भट्टराई सशंकित भएका
हुन् । दाहालले कांग्रेस, एमालेलाई समेत उक्साएको आरोप भट्टराई पक्षको छ । दाहाल पक्षले त्यसलाई इन्कार गरेको छ । 'बाबुरामजीको आत्मकेन्दि्रत धारणामात्र हो,' दाहालनिकट एक नेताले टिप्पणी गरे ।
पछिल्लो केन्द्रीय समिति बैठकले पारित गरेको साझा नयाँ प्रस्तावमा वैद्यसँग दाहाल नजिकिएपछि भट्टराई एक्लिँदै जान थालेका हुन् । स्रोतका अनुसार दाहालको भट्टराईसँग दूरी बढेको छ भने वैद्यसँग नजिकिएको छ । विशेष गरी सरकारलाई कमजोर बनाउने विषयमा दाहाल-वैद्यबीच कुरा मिल्दै गएको भट्टराईनिकट स्रोतको दाबी छ । माओवादीलाई कांग्रेस, एमालेले 'गलाउँदै' लगेकाले आफ्नो अडान बलियो पार्नु परेको दाहालनिकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले बताए । 'मुख्य नेतृत्व कहिले पनि कोहीसँग नजिक र टाढा हुँदैन,' उनले भने, 'संघर्षको बेला छ, किरण (वैद्य) सँग नजिकजस्तो देखिन्छ । भोलि दलहरूसँग सहमति गर्नुपर्‍यो भने बाबुरामजीसँग नजिक जस्तो देखिन्छ ।'
उनले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा कुरा गरे पनि बिना विकल्प सरकारलाई कमजोर बनाउने भूमिकामा दाहाल नभएको दाबी गरे ।
'जनसत्ता' बारे निर्णय र र पेट्रोलियम मूल्यवृद्धिले सरकार अप्ठ्यारोमा छ । मंगलबार पाल्पाको पार्टी प्रशिक्षणमा वैद्यले सरकारबारे 'खाआै भने दिनभरिको सिकार नखाऔं भने कान्छा बाउको अनुहार' भनेर टिप्पणी गरेका थिए । पार्टीका आन्तरिक प्रशिक्षणमा दाहालले सरकारबारे खासै नबोली वैद्यको भनाइलाई मौन समर्थन गरेजस्तो देखिन थालेको चर्चा पार्टी पंक्तिमा गर्न थालिएको छ ।

प्रकाशित मिति: २०६८ माघ १३ ०८:४४

No comments: