Monday, January 16, 2012

माओबादीको विचार मिलेन विधि मिल्यो

काठमाडौ, माघ १ -
अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यका छुट्टाछुट्टै राजनीतिक प्रस्ताव छलफलका लागि तल्लो समितिसम्म लैजाने सहमति गर्दै माओवादी विवाद अस्थायी रूपमा सल्टिएको छ । विवाद अधुरै रहे पनि एकता कायम राख्ने गरी दुई महिनादेखि चलेको केन्द्रीय समिति बैठक आइतबार सकिएको छ । 

दाहाल र वैद्यले आ-आफ्ना कार्यदिशा नछाडेपछि पार्टी फुट्नबाट जोगाउने भन्दै 'अस्थायी उपाय' निकालिएको हो । माओवादीले त्यसलाई 'संक्रमणकालीन समाधान' भनेको छ ।

दाहालले 'शान्ति र संविधान' र वैद्यले 'जनविद्रोहको तयारी गर्ने' कार्यदिशा बैठकमा पेस गरेका थिए । दुवै कार्यदिशालाई 'सम्पत्ति' का रूपमा ग्रहण गरी संगठनभित्र छलफलमा लैजान दुवै पक्ष सहमत भएपछि विवाद किनारा लागेको हो ।

बैठकपछि उपाध्यक्ष वैद्यले दुवै राजनीतिक प्रस्ताव यथावत् राख्ने निर्णय भएको बताए । 'हामीले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव यथावत् राखेर तलसम्म छलफलमा लैजाने निर्णय भएको छ,' उनले भने, 'जनताको संघीय गणतन्त्र नेपालको संविधान निर्माण, सम्मानजनक शान्ति प्रक्रिया र अन्य कार्यक्रमबारे साझा प्रस्ताव बनाएका छौं ।'

उनले पार्टीमा 'रूपान्तरणसहितको एकता' भएको दाबी गर्दै जनविद्रोहमा प्रतिबद्ध भएको समेत जनाए । 'हामी जनविद्रोह र क्रान्तिप्रति प्रतिबद्ध छांै,' उनले भने ।

प्रवक्ता दीनानाथ शर्माले कामकारबाहीमा एकता र विचारमा विविधताको विधिलाई अपनाइने उल्लेख गरे । 'शान्ति र संविधानलाई अघि बढाउने निर्णय भएको छ,' उनले भने, 'कामकारबाहीमा एकता र विचारमा स्वतन्त्रता राखिने छ । फरक विचार पनि राख्ने र अनुशासन पनि कायम गर्ने निर्णय भएको छ ।'

 शान्ति र संविधानसम्बन्धी निर्णय दुई पक्षको सहमतिमा गरिनेछ । यसअघि पार्टी अध्यक्षका हैसियतले दाहालले शान्ति र संविधानका लागि निर्णय गर्दै आएकामा अब भने वैद्य पक्षको सहमतिबाट निर्णय लिनुपर्ने प्रवक्ता शर्माले बताए । यसअघि संस्थापन पक्षले गरेका शान्ति र संविधानसम्बन्धी निर्णय कार्यान्वयन गर्दा अब वैद्य पक्षको सहमति आवश्यक पर्ने भएकाले ती प्रभावित हुने सम्भावना छ ।

पोलिटब्युरो सदस्य अग्नि सापकोटाले विवाद छलफल गर्ने विधिमा एकता भएको र राजनीतिक कार्यदिशा बाँकी रहेको जनाए । 'यो बैठकमा विधिमा एकता भएको छ भने राजनीतिक विचार, कार्यदिशालाई नमिले पनि छलफलमा लैजाने निर्णय भएको छ,' उनले भने, 'छलफलका लागि पहिलेको पाँच बुँदामा थप चार बुँदा थपेर नौ बुँदा बनाइएको हो ।'

त्यो विधिमा पार्टीमा सहमतिको आधारमा सामूहिक निर्णय गर्ने, निर्णय कार्यान्वयन सहमतिबाट हुने, सल्लाह गरेर कार्यक्रममा जाने र फरक विचार छलफलमा लैजाँदा पनि स्वीकृत लिनुपर्ने उल्लेख छ । संस्थापन पक्षले एकतर्फी निर्णय गरेको र वैद्य पक्षले पार्टी विधि नाघेको आरोप/प्रत्यारोप चलेपछि यस्तो प्रावधान राखिएको हो ।

वैद्यले 'सामन्तवाद र साम्राज्यवादीविरोधी सारतत्त्व भएको जनताको संघीय गणतन्त्र नेपालको संविधान बनाउने' उल्लेख गर्दै त्यो बन्न नसके अस्वीकार्य हुने बताए । 'त्यस्तो संविधान भएन भने जनतालाई स्वीकार्य हुँदैन,' उनले भने, 'जनता, सहिदको बलिदानले पनि परिवर्तन खोजेको छ । हामी त्यस्तै संविधान बनाउन चाहन्छांै ।'

 शान्ति र संविधानसम्बन्धी पहिले भएका निर्णयबारे पत्रकारले सोधेको प्रश्नमा वैद्यले त्यसबारे पुनः छलफल हुने बताए । 'ती विषयमा फेरि छलफल र बहस हुन्छन्,' उनले भने, 'त्यसबारे सिंगो देशभर छलफल हुनुपर्छ ।'

वैद्य पक्षले सेना समायोजनसम्बन्धी भएका निर्णयप्रति आपत्ति जनाउँदै 'सम्मानजनक' हुनुपर्ने बताउँदै आएको छ । 'सेना समायोजन पनि सम्मानजनक हुनुपर्छ,' वैद्यले भने, 'त्यसबारे हामीबीच एकमत छ ।'

बैठकमा दाहालले 'विलक्षण' परिस्थितिमा पार्टीले 'विलक्षण' विधि अपनाएको उल्लेख गर्दै आन्तरिक लोकतन्त्र उत्कर्षमा पुगेको बताएका थिए । उनले राजनीतिक निकासका लागि सबै विषय हल हुन नसके पनि मिल्नैपर्ने अवस्था आएको जनाए । 'राजनीतिक निकासका सबै विषय हल गर्न नसके पनि मिल्नैपर्ने अवस्था आयो,' उनको भनाइ थियो, 'यो नयाँ प्रयोग हो ।' बैठकमा वैद्यले आफ्नो कार्यदिशालाई स्पष्ट गर्दै जनमुखी संविधान र सम्मानजनक शान्ति प्रक्रिया नभए जनविद्रोहमा जाने विषयमा जोड दिएका थिए । प्रधानमन्त्री एवं उपाध्यक्ष बाबुराम भट्टराईले फरक कार्यदिशा भए पनि मिल्नुको विकल्प नभएको उल्लेख गर्दै शान्ति र संविधानलाई अघि बढाउन आवश्यक भएको जनाए । शान्ति र संविधानका लागि दबाब दिन माओवादीले देशव्यापी अभियान चलाउने कार्यतालिका भने स्थायी समिति बैठकले तय गर्नेछ ।



अविलम्ब राष्ट्रिय सरकार ः वैद्य

उपाध्यक्ष वैद्यले दलहरूबीच भएको सहमतिअनुसार अविलम्ब राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताएका छन् । पार्टी सरकारबाट फिर्ता हुनुपर्ने प्रस्ताव बैठकमा राखेका उनी राष्ट्रिय सरकार गठनमा जोड दिने अवस्थामा आइपुगेका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव एवं केन्द्रीय सदस्य गंगा श्रेष्ठले भने वैद्यसँग राष्ट्रिय सहमतिका लागि पार्टीले पहल गर्ने सहमति भएको बताए । 'राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्ने निर्णय भएको छ,' उनले भने, 'यो सरकारले राजीनामा दिनेबारे केही भनिएको छैन ।'

प्रकाशित मिति: २०६८ माघ २ ०९:०६

No comments: