Monday, January 23, 2012

We'll bring solution: PM Bhattarai

काठमाडौ, माघ ८ -
प्रधानमन्त्री बाबुराम भट्टराईले संसद् खुलाउने प्रयास भइरहेको उल्लेख गर्दै छिट्टै दलहरूबीचको गतिरोध अन्त्य हुने बताएका छन् । उनले सरकार प्रमुखको हैसियतले कांग्रेस- एमालेका शीर्ष नेताहरूसँग छलफल गरी गतिरोध अन्त्य गर्न गृहकार्य थालेको र आइतबारसम्म संसद् खुल्ने वातावरण बन्ने बताए ।

कांग्रेस-एमालेका नेताहरूसँग छलफल गरेपछि भट्टराईले आइतबार कान्तिपुरसँग कुरा गर्दै गतिरोध अन्त्य गरी शान्ति र संविधान निर्माणमा केन्दि्रत हुुनुपर्ने बताए । कांग्रेस सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल, नेताद्वय माधवकुमार नेपाल र केपी ओलीसँग कुरा गरे पछि उनले संसद् खुल्ने विश्वास व्यक्त गरे ।

कोइराला र खनालसँग उनले टेलिफोनमा कुराकानी गरेका थिए भने अरू नेतासँग भेटघाट गरी अनौपचारिक छलफल गरेका थिए । सोमबार बिहान कोइराला र भट्टराईबीच कुराकानी गरी अपराह्न तीन दलको औपचारिक बैठक बोलाउने तयारी प्रधानमन्त्रीको छ । 'भोलि -सोमबार) दिउँसो तीन दलको औपचारिक बैठक गर्ने र गतिरोध अन्त्य गर्ने हाम्रो प्रयास छ,' उनले जानकारी दिए ।

'सबै नेताहरूसँग सकारात्मक छलफल भएका छन्,' उनले भने, 'सरकार प्रमुखको हैसियतले छिट्टै संसद् खुलाएर गतिरोध अन्त्य गर्ने प्रयास जारी छ । छिट्टै संसद् खोल्नुपर्छ र शान्ति, संविधान संविधान निर्माण प्रक्रिया अघि बढाउनुपर्छ ।' उनले सरकारले 'जनसत्ता'लाई ब्युँताउन खोजेको नभई द्वन्द्वकालको लेनदेनलाई दुवै पक्षको सहमतिमा कानुनी प्रक्रियामा ल्याउने प्रयास मात्र सरकारले गरेको जनाए । 'जनसत्ताको निर्णयलाई वैधता दिन खोजेको होइन,' उनले भने, 'द्वन्द्वकालको लेनदेनलाई शान्ति प्रक्रियामा आइसकेपछि सहमतिमै कानुनी प्रक्रियामा पुर्‍याउन खोजेको मात्रै हो । यसमा शंकैशंकाले लंका हानेजस्तो भयो ।' उनले जनसत्ताको घरजग्गा किनबेचबारे सरकारको निर्णय फिर्ता हुने कुरा अस्वीकार गरे पनि निकास निकाल्न आफू प्रतिबद्ध भएको बताए । उनले यो विषय अदालतमा गइसकेको र कार्यान्वयन नगर्न अन्तरिक आदेश भइसकेकाले निर्णय पर्खेर समाधान निकाल्ने प्रस्ताव अन्य दलका शीर्ष नेताहरूसँग राखेको बताए । 'अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ, त्यसको निर्णय पखौर्ं भनेर अध्यक्ष प्रचण्ड र मैले आग्रह गर्‍यांै । उहाँहरूले मान्नु भएन,' उनले भने, 'हामीले संसद् खुलाएर शान्ति र संविधान निर्माणमा लागौं । हामीसँग संविधानका विवाद मिलाउने म्याद माघ १५ गतेसम्म छ भन्यौं ।'

उनले सत्ता र प्रतिपक्षबीच केही आशंका भएकाले केही गतिरोध आएको जनाए । 'एउटा पक्षलाई शान्ति प्रक्रिया अघि बढ्दैन कि भन्ने आशंका छ,' उनले भने, 'अर्को पक्षलाई संविधान नबनाउने हो कि भन्ने छ । तर दुवै पक्ष शान्ति र संविधान अघि बढाउनुपर्छ भन्ने पक्षमा छन् ।' शान्ति र संविधान निष्कर्षतिर पुग्न लागेकाले एकअर्कालाई दबाब सिर्जना हुनुलाई ठूलो गतिरोधको रूपमा लिन नहुने उनको भनाइ छ । 'अहिले एकले अर्कोलाई दबाब दिन केही गतिरोध जस्तो देखिएको छ,' उनले भने, 'शान्ति र संविधान अघि बढाउनै पर्छ । एकअर्काका आशंका मेटाएर सहमतिमा आउनैपर्छ । छिट्टै सहज वातावरण बन्छ ।'

आइतबार बिहान माओवादी अध्यक्ष दाहाल र भट्टराई तथा कांग्रेस संसदीय दल नेता पौडेल र एमाले वरिष्ठ नेता नेपालसँग सिंहदबारमा छलफल भएको थियो । त्यसपछि भट्टराईले कांग्रेस सभापति कोइरालासँग टेलिफोनमा कुराकानी गरेका थिए । अपराह्न भट्टराई आफैं एमाले नेता केपी ओलीको निवास भक्तपुर गई कुराकानी गरेका थिए । 'शान्ति र संविधानलाई अघि बनाउन आशंका मेटाऔं भन्ने कुरा भयो,' ओलीसँगको भेटपछि उनले भने, 'गतिरोध अन्त्य गर्ने छलफल हो ।'


प्रकाशित मिति: २०६८ माघ ९ ०८:५४

No comments: