Saturday, January 14, 2012

Prachanda, Baidhya face to face

काठमाडौं, पुस ३० - अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानको कार्यदिशा नछाडेपछि उपाध्यक्ष मोहन वैद्यसँग शुक्रबार पनि कुरा मिल्न सकेन । वैद्यसँग भएको मौखिक सहमतिमा ‘जनविद्रोह’ मा जाने कुरालाई पनि महत्त्व दिने बताएका दाहालले सहमतिको प्रस्ताव लेख्दा शान्ति र संविधानमै टेकेर ‘बाँकी क्रान्ति’ पूरा गर्न सकिने उल्लेख गर्न पुगे । 
दाहालको परिमार्जित प्रस्तावले वैद्यको चित्त बुझाउन नसकेपछि केन्द्रीय समिति बैठक अघि बढ्न सकेको छैन । दाहाल र वैद्यबीच भएका अनौपचारिक छलफल बिनानिष्कर्ष भए पनि नेताहरूले ‘सकारात्मक’ भनेका छन् । दाहालसँगको छलफलपछि वैद्यले कुराकानी निष्कर्ष उन्मुख भएको कान्तिपुरलाई बताए । ‘हामी निचोड निकाल्न प्रयास गरिरहेका छौं,’ उनले भने ।
संस्थापन पक्षका नेताहरूले सहमतिविपरीत प्रचार गरेको भन्दै वैद्य पक्षले चित्त दुखाएको छ । केही हदसम्म सहमतिको वातावरण बिगार्न खोजेको आरोपसमेत उनीहरूले लगाएका छन् । संस्थापन पक्षका नेताहरूले यतिबेला जनविद्रोहलाई स्वीकार गर्न नसकिने बताएपछि वैद्य पक्ष रुष्ट हुँदै गएको छ । त्यसका नेताहरू भन्न थालेका छन्, ‘यस्तै हो भने कुरा मिल्दैन ।’
प्रस्तावमा सहमति जुटाउन दाहाललाई ‘फलामको चिउरा चपाउनु’ जस्तै भएको छ । शान्ति र संविधानलाई बढी जोड दिए वैद्य पक्ष बिच्किने र जनविद्रोहलाई महत्त्व दिँदा प्रधानमन्त्री भट्टराई टाढिने खतरा छ । निकट नेताहरूका अनुसार, दाहालले दुवै पक्षलाई सन्तुलन मिलाउन खोजेका छन्, शुक्रबारसम्म त्यो सम्भव हुन सकेको छैन । उनले वैद्यलाई मनाउन प्रयास भने जारी राखेका छन् ।
वैद्यसँग फेरि पनि राजनीतिक र सैद्धान्तिक कुरा मिलेको छैन । दुई पक्षबीच सहमति भएको ‘जनताको संघीय नेपालको संविधान निर्माण र सम्मानजनक शान्ति प्रक्रिया’ कसरी अघि बढाउने राजनीतिक विषय हो भने जनविद्रोहको वातावरण कसरी बनाउने भन्ने सैद्धान्तिक । वैद्य पक्षले यही संसदीय व्यवस्थालाई दाहालले नयाँ प्रस्तावमा ‘पक्षपोषण’ गरेको भन्दै असहमति जाहेर गरिसकेका छन् । उपाध्यक्ष वैद्यले राजनीतिक र सैद्धान्तिक विषयमा सहमति हुन बाँकी भएको बताए पनि कुन–कुन विषय हुन् भन्ने कुरा खुलाएनन् । ‘राजनीतिक र सैद्धान्तिक कुरा मिल्न बाँकी छ,’ उनले भने, ‘हाम्रो छलफल भइरहेको छ । सकारात्मक निचोड निस्कने विषयमा हामी आशावादी छौं ।’ उनले साझा कार्यक्रम, विगतको समीक्षालगायत विषयमा समीक्षा गर्न बाँकी रहेको जनाए ।
दाहालले जनविद्रोहको कार्यदिशातिर ढल्कनेबित्तिकै पार्टी बाहिर पनि उनका लागि प्रतिकूल परिस्थिति सिर्जना हुनेछ । त्यसकारण पनि दाहालले जनविद्रोह उल्लेख नगरी ‘संघर्ष’ शब्द राखेका छन् । दाहाल निकट पोलिटब्युरो शक्तिबहादुर बस्नेतले शान्ति र संविधान मुख्य कार्यभार बनाउने कि नारामात्र भन्ने विषय महŒवपूर्ण भएको बताए । ‘शान्ति र संविधानलाई मुख्य कार्यभार बनाउने कि नारामात्र बनाउने भन्ने छलफलको विषय हो,’ उनले भने, ‘शान्ति र संविधानलाई कार्यान्वयनको एजेन्डा बनाउने मुख्य विषय हो । त्यसबाट बाहिर जान सकिँदैन ।’
वैद्यले भने आफ्नो विचार समूहलाई प्रतिकूल हुने गरी दुश्प्रचार भएको गुनासो गरे । ‘सबैका कुरा सुनेर अध्यक्षले सही ढंगले अघि बढाउनु होला भन्ने लागेको छ,’ उनले भने, ‘तर अत्यन्तै दुश्प्रचार गर्ने ढंगले आइरहेको छ । जुन गलत छ ।’ पछिल्लो समयमा वैद्य पक्ष आक्रोहित हुनुको अर्को कारण, सरकारमा सहभागी हुने भन्नेमा हो । संस्थापन पक्षले वैद्य पक्ष सरकारमा ल्याउने तयारीको विरोधमात्र गएका छैनन्, बिहीबार नयाँबजारमा दाहाललाई भेटेर आपत्तिसमेत जनाइसकेका छन् ।
प्रकाशित मिति: २०६८ पुस ३० १२:५१

No comments: