Monday, January 23, 2012

I am in president's role: Prachanda

काठमाडौं, माघ ९ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि आफ्नो भूमिका राष्ट्रपतिभन्दा कम नभएको जिकिर गरेका छन् ।
राजधानीमा सोमबार आयोजित एक अन्तर्क्रियामामा दाहालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुन आफूले कसरत गरेको आरोप लागेको बताए । 'म संविधानसभाको निर्वाचन हुनु पहिले नै राष्ट्रपतिभन्दा ठूलो भइसकेको छु,' दाहालले भने, 'जनताले मलाई माया दिइसकेका छन्, अहिले म प्रधानमन्त्री पनि छैन, केही पनि छैन, तर म राष्ट्रपतिभन्दा कम छु भन्ने मलाई लाग्या छैन, अहिले पनि म राष्ट्रपति नै छु ।'
दाहालले आफूलाई व्यक्तिगतरुपमा राष्ट्रपति हुने आकांक्षा नभएको दाबी गरे । 'माओवादीको अध्यक्षको हैसियतले अझ प्रचण्ड हुनुको नाताले मलाई राष्ट्रपति हुनुपर्छ भन्ने बिल्कुल आकांक्षा पनि छैन,' शासकीय स्वरुपमा आफूलाई केन्द्रित गरेको भन्दै उनले भने, 'म आगामी निर्वाचनमा उठ्न पनि सक्छु नउठ्न पनि सक्छु त्यो कुनै ठूलो कुरा होइन ।
दाहालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति तानाशाह हुन्छ भनी अन्य दलहरुले गरेको टिप्पणीप्रति पनि आपत्ति जनाए । 'जनताले निर्वाचित गरेको चाँही तानाशाह हुन्छ रे यो तर्क प्रजातन्त्रको मान्यतासँग नै मिल्दैन,' केही बौद्धिक व्यक्ति र मिडिया नै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिविरुद्ध हात धोएर लागिपरेको भन्दै दाहालले भने, 'नेपाली जनताको दिमागमा जबरजस्ती घुसाउन र दिग्भ्रमित पार्न खोजिएको छ, जनता शक्तिशाली हुने स्थितिलाई रोक्न खोजिदैछ ।'
दाहालले जनताद्वारा निर्वाचित राष्ट्रपतिले स्थायित्व, विकास दिन्छ र सम्पूर्ण मुलुकलाई एक बनाउन सक्ने उनको जिकिर थियो । 'यसरी एउटा व्यक्तिमा लगेर यति ठूलो ऐतिहासिक मुद्दालाई बहस गर्नुमा बौद्धिक दरिद्रताबाहेक केही देखाएको छैन,' उनले भने ।
संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिका संयोजकसमेत रहेका दाहालले सहमति हुनैलाग्दा कांग्रेस पछि फर्किएको बताए । 'सहमति हुन लागेकाबेला कांग्रेस पछि हटेपछि स्थिति धेरै गम्भीर भएको छ,' उनले भने ।
दाहालले माओवादीलाई घेराबन्दी गरेर पुराना संसदीय मान्यताका दलहरुले पुरानै चरित्र देखाएको आरोप लगाए । 'नेपालमा यस्तो पनि स्थिति छ जनता एकातिर छ तर अहिले भएकै पार्टीहरु कुरा गर्दा केही पार्टीहरु माओवादीलाई घेराबन्दी गर्ने नै छन्,' उनले भने, 'जसले विगत राजतन्त्र हुँदासम्म राजतन्त्रको गुलामी कसर बाँकी राखेनन् त्यस्ता नेताहरु अहिले पनि त्यहि ठाउमा छन्, उनीहरुको संस्कार र मनोविज्ञान बदलिएको म पाउँदिन ।'
दाहालले आफ्ना अडानबाट पछि हट्दै सहमति गर्दै जाँदा पार्टीभित्रको विरोध सामना गरेर भए पनि संविधान बनाउन लागी परेको बताए । आगामी संविधान कुनै एक दल र नेता विशेषले चाहेजस्तो बन्न नसक्ने भन्दै दाहालले आफूजस्तै त्यागी बन्न अन्य दललाई आग्रह गरे ।

प्रकाशित मिति: २०६८ माघ ९ ०३:२९

No comments: