Sunday, January 15, 2012

चीनले भन्यो- भारतलाई पनि विश्वासमा लिनुस

काठमाडौ, माघ १ -
चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले भारतसँगको सम्बन्ध अझै सुदृढ गर्न नेपाललाई सुझाव दिएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा शनिबार भएको भेटवार्तामा चिनियाँ समकक्षी वेनले विशेषगरी नेपाल-चीन र नेपाल-भारत सम्बन्धबारे चासो राख्दै दुवै देशसँग राम्रो सम्बन्ध हुनुपर्ने बताएका हुन् ।
केही घन्टे नेपाल भ्रमणका क्रममा वेनले भारतसँग पनि सम्बन्ध अझै सुदृढ गराउन आग्रह गरेका थिए । आफ्नो भ्रमणले भारतलाई कुनै शंका नहोस् भन्नेतर्फ उनी सचेत देखिन्थे । 'हाम्रो र भारतबीच राम्रो सम्बन्ध छ,' वेनको भनाइ थियो, 'तपाईं -नेपाल) र भारतबीच पनि राम्रो सम्बन्ध होस् भन्ने चाहन्छौं ।'
वेनले विशेषगरी तीन राजनीतिक सन्देश दिन खोजेको भट्टराईको बुझाइ छ । पहिलो- शान्ति र संविधान निर्माण प्रक्रियालाई राजनीतिक महत्त्व, समर्थन र सहयोगको वचन दिनु । दोस्रो- राजनीतिक स्थायित्व । र, तेस्रो, नेपाल-भारत सम्बन्ध सुदृढीकरण । प्रमुख दलका नेताहरू र प्रधानमन्त्री भट्टराईसित भएका छुट्टाछुट्टै भेटवार्तामा उनले ती सन्देश दिन खोजेका हुन् ।
राजनीतिक स्थायित्व भएपछि मात्र आर्थिक विकास गर्न सकिनेमा वेनको जोड थियो । त्यसका लागि शान्ति र संविधान निर्माण प्रक्रिया टुंग्याउन सुझाव दिँदै उनले आवश्यक सहयोग गर्ने वचन पनि दिए । 'शान्ति र संविधान निर्माण प्रक्रिया टुंग्याउनुस्, हाम्रो सहयोग र समर्थन रहनेछ,' उनले भने, 'हामी नेपालमा छिट्टै राजनीतिक स्थायित्व होस् भन्ने चाहन्छौं । त्यसो भयो भने मात्र आर्थिक वृद्धि हुन सक्छ ।'
प्रधानमन्त्री वेनले सरकारसँगको भेटवार्तापछि प्रमुख दलका शीर्ष नेताहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । उक्त अवसरमा पनि उनले दुई देशको सम्बन्ध विस्तार र नेपालमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिएका थिए ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालका अनुसार नेताहरूसँगको भेटमा वेनले छिटो शान्ति प्रक्रिया र संविधान निर्माण टुंगियोस् भन्ने चाहना राखेका थिए । 'त्यसपछि आर्थिक विकास गर्न सकिने र त्यसमा सहयोग गर्न चीन तयार रहेको वेनले बताउनुभयो,' खनालले कान्तिपुरसँग भने । भेटका क्रममा नेपाल र चीनबीच सम्बन्ध अझै सुदृढ गर्नुपर्नेमा जोड दिँदै थप सहयोगको अपेक्षा गरेको नेताहरूले बताएको उल्लेख गरे । 'नेपाल-चीन मैत्री सम्बन्ध अझै प्रगाढ बनाउन आग्रह गर्नुका साथै सरसहयोग बढाउनुपर्नेमा नेताहरूको जोड रह्यो,' खनालले भने । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष खनाल र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वेनसँग दिवाभोज गरेका थिए ।
खनालले चिनियाँ प्रधानमन्त्रीको भ्रमण महत्त्वपूर्ण भएको उल्लेख गर्दै चीनले नेपाललाई माया र सहयोग गर्न चाहेको प्रस्ट देखिएको जनाए । 'यो भ्रमण महत्त्वपूर्ण हो,' उनले भने, 'यसबाट चीन नेपाललाई माया र सहयोग गर्न चाहन्छ भन्ने प्रस्ट देखिन्थ्यो ।'
भट्टराईसँगको भेटमा भने वेनले आफू एक/दुई दिन बस्न चाहेको भए पनि समयको चापले नभ्याएको बताएका थिए । कोइरालालाई सोधे, 'गिरिजासँग के नाता ?’ नेताहरूसँगको छलफलकै क्रममा प्रधानमन्त्री वेनले कांग्रेस सभापति सुशील कोइरालालाई सोधे, 'गिरिजाप्रसादसँग तपाईंको के साइनो पर्छ ?' कोइरालानिकट स्रोतका अनुसार सुशीलले 'दाजु साइनो पर्ने' बताएका थिए । दिवाभोजअघि प्रमुख राजनीतिक दलका नेताहरू र वेनबीच परिचय भएको थियो । शीर्ष नेताहरूले नेपालको भ्रमण गरेकामा स्वागत र धन्यवाद व्यक्त गरेका थिए ।

भ्रमणको अन्तर्राष्ट्रिय महत्त्व छ: प्रधानमन्त्री बाबुराम भट्टराई

प्रधानमन्त्री भट्टराईले चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमण अन्तर्राष्ट्रिय महत्त्वको भएको बताएका छन् । यो भ्रमणले नेपाल-चीन सम्बन्ध सुदृढका साथै दुई छिमेकीसँग नेपालको सन्तुलित सम्बन्ध रहेको प्रमाणित भएको उनले उल्लेख गरे । वेनको भ्रमणपछि कान्तिपुरसँग कुरा गर्दै भट्टराईले अनुकूल समय मिलाएर आफू चीन भ्रमणमा जाने जानकारी दिए ।
भ्रमणको राजनीतिक उपलब्धि के रह्यो ?
भ्रमण निकै महत्त्वपूर्ण रह्यो । १० वर्षपछि चीनजस्तो महाशक्ति राष्ट्रका प्रधानमन्त्रीको भ्रमण नेपालका लागि कम गौरवको विषय होइन । सद्भावना भ्रमण भए पनि यसको अन्तर्राष्ट्रिय महत्त्व छ । उहाँको भ्रमणले विश्वमा नेपालको महत्त्वपूर्ण स्थान छ भन्ने पनि देखाएको छ । मसँग अलग्गै र प्रमुख दलका नेताहरूसँग सामूहिक भेटवार्ता भयो, यसका मुख्य गरी तीन राजनीतिक सन्देश छन् । पहिलो, चीनले नेपालमा राजनीतिक स्थायित्व भएको हेर्न चाहन्छ । त्यसका लागि शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन ऐक्यबद्धता र समर्थन दियो । यो महत्त्वपूर्ण कुरा हो । दोस्रो, नेपालको भूराजनीतिक अवस्थाबारे पनि कुरा भयो । भेटमा मैले नेपाल दुई ढुंगाको तरुल होइन, चीन र भारतबीच पुल बन्ने कुरा उठाएँ । प्रमुख राजनीतिक दलका नेतासँग र मसँग पनि उहाँले चीन र भारतसँग नेपालले सन्तुलित सम्बन्ध राख्न सुझाव दिनुभयो । उहाँले चीन र भारतबीच राम्रो सम्बन्ध भएको उल्लेख गर्दै नेपाल-भारतबीच राम्रो सम्बन्ध भएमा तीनवटै देशलाई राम्रो हुने जनाउनुभयो । तेस्रो, आर्थिक विकासका लागि सहयोगको कुरा । नेपाल राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकासमा जानुपर्छ भनेर चीनले चासो राख्नु महत्त्वपूर्ण हो । यसकारण पनि चीनले गर्ने लगानी वृद्धि र रेलमार्ग निर्माणलगायत विषयमा उहाँले स्पष्टसँग कुरा राख्नुभयो ।
नेपालमा चिनियाँ प्रभाव बढ्दैछ भन्ने टिप्पणी आएको बेला यो भ्रमण भयो नि ?
नेपालको भूराजनीतिक अवस्थाले पनि हामी एकातिर मात्र ढल्कन सक्दैनौं । हामी निष्त्रिmय भएर बस्न पनि सक्दैनौं । हामी चीन र भारतसँग हाम्रो सम्बन्ध बढाएर जानैपर्छ । यो भ्रमणले चिनियाँ प्रभाव नेपालमा बढेको नभई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको महत्त्व बढेको भन्ने बुझ्नुपर्छ । विश्वसामु नेपाल कमजोर, गरिब छ भन्ने मनोविज्ञानलाई यो भ्रमणले कम गरिदिएको छ । यसले विश्वमा नेपालको महत्त्वपूर्ण स्थान छ भन्ने स्पष्ट देखाएको छ ।
तपाईं छिट्टै चीनको भ्रमण जाँदै हुनुहुन्छ ?
प्रधानमन्त्री वेनले चीन भ्रमणको निम्तो दिनुभएको छ । म अनुकूल समय मिलाएर चीनको भ्रमण गर्नेछु ।
चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण यति छोटो किन भयो ?
औपचारिक भ्रमणलाई छोटो र लामो भ्रमण भन्ने कुरा हुँदैन । यो औपचारिक भ्रमण भएकाले महत्त्वपूर्ण उपलब्धि भएको छ । भ्रमणमा औपचारिक कामहरू हुने भनेको ४-५ घन्टामै हो । यो समयमा हामी महत्त्वपूर्ण काम गर्न सफल भएका छौं भन्ने लागेको छ ।




प्रकाशित मिति: २०६८ माघ १ ०९:१

No comments: