Friday, January 13, 2012

Maoist rift resume

काठमाडौ, पुस २९ - अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधान निर्माणसम्बन्धी कार्यदिशामा भएको मौखिक सहमतिअनुरूपको लिखित प्रस्ताव नल्याएको भन्दै उपाध्यक्ष मोहन वैद्य पक्षले फेरि सच्याउन आग्रह गर्दै मस्यौदा फिर्ता गरेको छ ।
'जनताको संघीय गणतन्त्र नेपालको संविधान र सम्मानजनक शान्ति नभए संघर्ष -जनविद्रोह) मा जाने' कुरा स्पष्ट रूपमा नल्याएको भन्दै वैद्य पक्षले लिखित प्रस्ताव सच्याएर ल्याउन दाहाललाई पुनः आग्रह गरेको हो ।
दाहालले तयार पारेको मस्यौदामा वैद्य पक्षले बुधबार राति पोलिटब्युरो सदस्यहरूसँग छलफल गरेपछि मौखिक सहमति भएअनुसार नआएको भन्दै सच्याउन आग्रह गर्ने निर्णय गरेको थियो । बिहीबार दाहाल र वैद्य पक्षबीच छलफल भए पनि सहमति हुन सकेन । वैद्य पक्षको सुझावका आधारमा प्रस्ताव बनाउन दाहालले आफ्नो पक्षका नेताहरूसँग छलफल थालेका छन् । दाहाललाई वैद्य पक्षले पालुङटारपछि बसेको केन्द्रीय समितिको कार्यदिशाअनुसार प्रस्ताव ल्याउन मौखिक सहमति भए पनि त्यसलाई नसमेटेको भन्दै नयाँ प्रस्ताव नल्याए नमान्ने बताएका हुन् ।
वैद्य निकट पोलिटब्युरो सदस्य धर्मेन्द्र बाँस्तोलाले दाहालले घुमाईफिराई पुरानै प्रस्ताव ल्याएको आरोप लगाउँदै मौखिक सहमतिमा भएका कुरा नसमेटिएको बताए । 'हाम्रो विचार समूहको पोलिटब्युरो बैठकले त्यसलाई अस्वीकार गर्‍यो,' उनले कान्तिपुरसँग भने । पालुङटारपछि बसेको केन्द्रीय समिति बैठकले 'जनविद्रोह' को तयारी गर्ने कार्यदिशा पारित गरेको थियो । संस्थापन पक्षले भने वैद्य पक्षसँग भएको मौखिक समझदारीकै आधारमा नयाँ परिमार्जित प्रस्ताव ल्याएको बताएको छ । उसले त्यही नै सहमतिको प्रस्ताव भएको दाबी गरेको छ । 'किरणजीहरूसँग छलफल भएअनुसारै अध्यक्षले परिमार्जित र विकसित प्रस्ताव तयार पार्नुभएको हो,' दाहालनिकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले कान्तिपुरसँग भने, 'जनसंविधान निर्माण र सम्मानजनक शान्ति प्रक्रियालाई अध्यक्षले मुख्य कार्यदिशाका रूपमा समेट्नुभएको छ । त्यही नै मुख्य समझदारी पनि हो ।'
दाहालले तयार पारेको प्रस्तावमा जनताको संविधान र सम्मानजनक शान्ति प्रक्रियाका लागि अन्तिमसम्म प्रयास गर्ने, त्यसमा षड्यन्त्र भए संघर्ष गर्ने, दुवै कुराका लागि जनपरिचालन गर्ने, बैठकका निर्णय सामूहिक रूपमा गर्ने, सरकारको पुनर्गठन गर्नेलगायतका विषय उल्लेख छन् । वैद्य पक्ष पनि शान्ति र संविधानकै पक्षमा भएकाले दाहालको प्रस्तावमा आपत्ति जनाउनु आवश्यक नभएको सापकोटाको भनाइ छ । 'शान्ति र संविधानमा टेकेर अघि जाने भएपछि आपत्ति जनाउनुपर्ने कारण छैन,' उनको भनाइ छ ।  अर्का पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले शान्ति र संविधानको कार्यदिशा नै मुख्य कार्यदिशा भएको प्रस्ताव अध्यक्ष दाहालको भएको जनाए । 'अध्यक्षको एकता प्रस्तावको प्रस्तुतिमा सामान्य मिलाउने कुरा हो,' उनले भने, 'शान्ति र संविधानकै प्रस्ताव हो, फेरि नयाँ प्रस्ताव बनाउने होइन ।'
वैद्यनिकट पोलिटब्युरो बाँस्तोलाले भने संविधान बनाएपछि चुनावबाट 'जनवादी क्रान्ति' पूरा हुने उल्लेख गरी यही व्यवस्थालाई मजबुत गर्न खोजेको जनाए । 'यही सत्तालाई मजबुत गर्न चुनावी कार्यक्रमसँग जोड्न खोज्नुभएको छ,' उनको भनाइ थियो, 'संविधान बनाएपछि चुनावबाट अघि जाने कुरा प्रस्तावमा उल्लेख छ ।'

'रणनीतिक जित'
अध्यक्ष दाहालसँग मौखिक सहमति भएपछि उपाध्यक्ष मोहन वैद्य पक्षको छुट्टै भेलामा नेताहरूले आफ्नो जित भएको जनाएका छन् । वैद्य पक्षले 'पार्टीभित्र रणनीतिक र कार्यनीतिक सन्तुलन' ल्याउन सकेका कारण जनविद्रोहको कार्यदिशामा दाहाल सहमत भएको बताएका थिए ।
'बाहिर गरेजस्तै पार्टीभित्र पनि रणनीतिक सन्तुलन कायम गर्नुपर्‍यो,' वैद्यको भनाइ थियो, 'हामीले अघि सारेको कार्यदिशा अध्यक्षले मान्छु भनेपछि हुन्न भन्नु भएन ।'
पालुङटारपछिको केन्द्रीय समितिले पारित गरेको कार्यदिशामा आउन दाहालले प्रतिबद्धता जनाएको भेलामा जानकारी गराइएको थियो ।
वैद्यपक्षीय एक नेताले दाहालले मौखिक रूपमा महासचिव रामबहादुर थापालाई सैन्य विभाग प्रमुख र स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलाई युवा फाँटको जिम्मेवारी दिने प्रतिबद्धता जनाएको उल्लेख गरे । यसअघि थापालाई सैन्य विभागको प्रमुख दिने निर्णय भए पनि खास जिम्मेवारी दिएको थिएन । चन्दको नेतृत्वमा जनस्वयंसेवक ब्युरो बनाए पनि काम अघि बढ्न सकेको थिएन । विवादका कारण त्यसबेला ब्युरोका सदस्यहरूलाई वितरण गरिएका 'युनिर्फम' को रकमसमेत चुक्ता भएको छैन ।




प्रकाशित मिति: २०६८ पुस २९ ०८:५३

No comments: