Friday, January 6, 2012

Prachanda in trap

काठमाडौ, पुस २१ -
राजनीतिक कार्यदिशा फरक भए पनि पार्टीका अन्य कार्यक्रम सँगै अघि बढाउने संस्थापन पक्षको प्रस्ताव वैद्य पक्षले अस्वीकार गरेको छ । राजनीतिक कार्यदिशा फरक परिसकेकाले एउटै कार्यक्रमअन्तर्गत भेला, प्रशिक्षण गर्नुको खास महत्त्व नहुने वैद्य पक्षको भनाइ छ ।

'कार्यदिशा फरक परिसकेपछि एउटै कार्यक्रम बन्न गाह्रो छ,' सचिव सीपी गजुरेलले कान्तिपुरसँग भने, 'राजनीतिक लाइनको ठूलो अन्तर छ, यसलाई मिलाउन गाह्रो छ ।'

संस्थापन पक्षले पार्टी फुट्नबाट जोगाउन एउटै कार्यक्रम लिएर देशव्यापी प्रशिक्षण चलाउने प्रस्ताव वैद्य पक्षसमक्ष राखेको थियो । शान्ति र संविधानमा भएका सहमति नसच्याएसम्म एउटै कार्यक्रम लिएर देशव्यापी जान नसकिने वैद्य पक्षको अडान छ । उक्त अडानपछि दाहाल र वैद्यको राजनीतिक प्रस्तावमा मिलेका विषय एउटै बनाउने संस्थापन पक्षको तयारी समेत संकटमा परेको छ ।

संस्थापन पक्षका पोलिटब्युरो सदस्य अग्नि सापकोटाले पनि राजनीतिक विचार र कार्यदिशामा वैद्य पक्षसँग तत्काल कुरा मिल्न नसक्ने जानकारी दिए । 'राजनीतिक विचार र कार्यदिशामा तत्काल कुरा मिल्ने सम्भावना छैन,' उनले भने, 'नमिलेका विषयमा छलफल चलाएर जानुको विकल्प छैन ।' पार्टीका अन्य कार्यक्रम भने एउटै हुन सक्ने उनले बताए । 'पार्टीका प्रशिक्षण, भेला एउटै बनाएर लैजान सकिन्छ,' उनले भने, 'त्यसबारे छलफल भइरहेको छ, तत्कालीन कार्यक्रममा दुई दस्तावेजमा खास भिन्नता छैन ।'

गजुरेलले पार्टी फुटाउन नहुने दुवै पक्षका नेताहरूले महसुस गरेको उल्लेख गर्दै कुरा मिलाउन दाहाल 'नरम' हुँदै गएको बनाए । 'पछिल्लो समयमा अध्यक्षमा पहिलेजस्तो अडान छैन,' उनले भने, 'कसरी मिलाउने, प्रचण्डजीमै भर पर्छ ।'

केन्द्रीय समिति बैठकमा बोल्ने सयभन्दा बढी केन्द्रीय सदस्यले पार्टी फुटाउन नहुने दबाब दिएपछि दुवै पक्ष वैकल्पिक खोजीमा लागेका छन् । 'हामीले केन्द्रीय सदस्यहरूको सुझावलाई ध्यान दिनैपर्छ,' गजुरेलले भने,  'धेरैले नेतृत्वलाई पार्टी मिलाउन आग्रह गरेका छन् ।' उनले आफ्नो पक्षले 'पार्टी फुटाउन खोजेको' नभई बाटो बिराएकाले खबरदारी गरेको उल्लेख गरे ।

अध्यक्ष दाहालका निजी सचिवसमेत रहेका छोरा प्रकाशले उनको प्रस्ताव थपघट गर्नु आवश्यक नभएको फेसबुकमार्फत सार्वजनिक गरेका छन् । 'विभिन्न छापामा आएअनुसार प्रचण्डले नयाँ प्रतिवेदन लेख्दै र आजको मिटिङ स्थगित भनेर जुन भ्रामक समाचार छापिएको पाइयो,' उनले भनेका छन्, 'यो सरासर झुट र कपोलकल्पित समाचार हो । अध्यक्ष प्रचण्डले जुन प्रस्तुत गर्नुभएको छ, त्यो नै एकता र शान्ति र संविधान प्रमुख प्रस्ताव छ । त्यसमा कुनै थपघट गर्नुपर्ने आवश्यक छैन ।'

यसैबीच बहिर्गमनमा परेका लडाकुले आह्वान गरेको बन्दका कारण माओवादी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

प्रकाशित मिति: २०६८ पुस २२ ०९:०९

No comments: