Monday, June 11, 2012

प्रधानमन्त्री ढुक्क !

काठमाडौ, जेष्ठ २९ - विपक्षी कांग्रेस-एमालेलगायतले प्रधानमन्त्री बाबुराम भट्टराई सरकारको बहिर्गमनका लागि आन्दोलन थालनी गरे पनि त्यसको राप र ताप सिंहदरबारसम्म पुगेको छैन । आन्दोलनको बलले प्रधानमन्त्रीको कुर्सी नहल्लेको महसुस भट्टराईले गरेका छन् । संविधानसभा विघटनपछि सरकार कामचलाउ हैसियतमा भए पनि भट्टराई आफ्नो कार्यकाल लम्बिनेमा विश्वस्त देखिन्छन् ।
सरकार सञ्चालनमा भट्टराईको आत्मबलमा कुनै कमी नआएको बालुवाटार स्रोतले जनाएको छ । दलहरूबीच सहमतिका लागि भएका कुराकानी 'देखावटी' मात्र भएको उनी भन्ने गर्छन् । सरकार सञ्चालनका लागि उनको दौडधुप अझ बढेको छ । कार्यकारी प्रधानमन्त्रीकै हैसियतजस्तै उनले काम गरिरहेका छन् ।
यो सरकार अझै केही महिना रहने विश्लेषण गरी भट्टराईको सक्रियतामा कमी नआएको निकट स्रोतले जनाएको छ । संविधानसभा विघटन भएकै राति यो सरकार संविधानसभा निर्वाचनसम्म जाने उनले बताएका थिए । हाल पनि उनको विश्वास त्यही छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले दसैंतिहारपछि राजनीतिक दलबीच सहमति हुने बताएर सरकारको आयु स्वतः लम्बिएको संकेत शनिबार गरेका थिए ।
राजनीतिक दलबीच अनौपचारिक कुराकानी जारी रहे पनि खास सहमतिको थालनी दसंैतिहारपछि हुने बुझाइ माओवादीकोे छ । राजनीतिक सहमतिको जति कुरा गरे पनि तत्काल सहमति जुटिहाल्नेमा माओवादी र खासगरी भट्टराईलाई शंका छ । राजनीतिक सहमति नभएसम्म सरकार ढुक्कसँग जाने उनको दाबी छ ।
'तत्काल राजनीति सहमति जुटिहाल्ने सम्भावना छैन,' भट्टराई निकट स्रोतले भन्यो, 'त्यसकारण सरकारको आयु लम्बिनेमा कुनै शंका छैन ।' माओवादी प्रवक्ता एवं शिक्षामन्त्री दीनानाथ शर्माले भने सरकारमा टिकिरहने पार्टीको कुनै मोह नभएको बताए ।
'जति छिटो राष्ट्रिय सहमति बन्छ, त्यति छिटो हामी सरकारबाट बिदा हुन्छांै,' उनको भनाइ छ । उनले सरकारले लोकतान्त्रिक पद्धतिको अभ्यासका लागि निर्वाचनको घोषणा गर्नु सही भएको उल्लेख गर्दै सबैको ध्यान त्यतै तान्न सरकार लागिपरेको जनाए । सरकारको आयु लम्बिने विश्वाससाथ भट्टराईले आफ्नो अनुकूल बजेट तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।
आर्थिक क्रान्तिको नारा दिँदै आएका भट्टराईले आफ्नो गुरुयोजना यसपालिको बजेटमा ल्याउने तयारी गरेका छन् । अर्थ मन्त्रालयले बजेटको खाका करिब तयार पारिसकेको छ ।
अर्थ मन्त्रालय स्रोतले भट्टराईका अधिकांश योजना बजेटमा परेको जानकारी दियो । 'राजनीतिक सहमतिका लागि कुराकानी जारी रहेकै बेला प्रधानमन्त्री आर्थिक विकासको जग बसाल्ने योजनामा हुनुहुन्छ,' निकट एक नेताले भने, 'राम्रो काम गर्न सरकारलाई कुनै जोखिम छैन ।'
विपक्षीको चर्को विरोधबीच भट्टराईले आफू 'सुरक्षित सिट' मा भएको महसुस गर्नुको पछाडि मधेसी मोर्चाको साथ हुनु र विशेषगरी भारतको 'हस्तक्षेप' नहुनु ठानेका छन् । संविधानसभा विघटन हुनै लागेका बेला कार्यकारी प्रधानमन्त्रीका हैसियतले निर्वाचन घोषणा गर्ने कदमले आफ्ना हात माथि परेको बुझाइ उनको छ । उनले यसलाई सुरक्षित कदम मानेका छन् ।
घोषणा गरेकै मिति मंसिर ७ मा संविधानसभा निर्वाचन हुनेमा भट्टराईलाई समेत शंका भए पनि त्यसबेलासम्म सरकारमाथि संकट नआउनेमा उनी ढुक्क छन् । गत साता सत्ता साझेदार दलको सार्वजनिक अन्तक्रिर्यामा भट्टराईले सरकारविरुद्ध कदम नचाल्न राष्ट्रपतिलाई आग्रहसमेत गरेका थिए । 'एउटाले असंवैधानिक कदम चाले अर्कोले पनि चाल्छ,' उनको भनाइ थियो, 'त्यसकारण कसैले पनि त्यो जोखिम नमोलौं ।' अध्यक्ष दाहालले समेत राष्ट्रपतिले सरकारलाई बर्खास्त गर्न नसक्ने बताएपछि सरकारबारे माओवादीको धारणा स्पष्ट भएको छ । माओवादी भावी मार्गचित्रसहित र आफू अनुकूलको कुनै ठोस राजनीतिक सहमति नभइकन सरकार छाड्ने मनस्थितिमा छैन ।

प्रकाशित मिति: २०६९ जेष्ठ २९ ०८:३४

No comments: