Saturday, June 23, 2012

एमाओवादीमा रिक्त पदका लागि दौडधुप

काठमाडौ, असार ९ -
पार्टी विभाजनपछि एकीकृत माओवादीमा रिक्त उपाध्यक्ष, महासचिव र सचिव पदका लागि आकांक्षीहरूले आ-आफ्नो 'लबिङ' थालेका छन् ।  एमाओवादीभित्र अहिले पनि अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री एवं उपाध्यक्ष बाबुराम भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गरी तीन पक्ष छन् । तीनै पक्षका नेताहरू रिक्त पदहरूका लागि दौडिसकेका छन् ।
वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले नेकपा-माओवादी गठन गरेपछि रिक्त यी पद तत्काल पूर्ति हुने सम्भावना भने कम छ । महासचिवमा बढी विवाद देखिए उपाध्यक्षमा हाल सचिव रहेका पोस्टबहादुर बोगटी चयन हुन सक्छन् । त्यसो भएमा स्थायी समिति सदस्य कृष्णबहादुर महरा महासचिव बन्ने सम्भावना छ । उपाध्यक्ष नराख्ने सहमति भए बोगटी महासचिव हुने सम्भावना रहेको स्रोतले जनायो ।
बोगटी दाहालका विश्वासिला कमै नेतामध्येका हुन् । नवगठित माओवादीमा लागेर सीपी गजुरेलले छाडेको सचिव पदका लागि एमाओवादीभित्र चर्को हानाथाप छ । स्रोतका अनुसार दाहाल महरालाई महासचिव वा सचिव बनाउन चाहन्छन् । जबकि, उपाध्यक्ष भट्टराई र श्रेष्ठ पक्षधर नेताहरूले पनि सचिव पद दाबी गरेका छन् । सचिव बन्न चाहनेहरूमा स्थायी समिति सदस्य वर्षमान पुन, अमिक शेरचन, गिरिराजमणि पोख्रेल र टोपबहादुर रायमाझी छन् ।
दाहालनिकट पुन, भट्टराईनिकट शेरचन र रायमाझी र श्रेष्ठनिकट पोख्रेल हुन् । पार्टीमा राजनीतिक शक्ति सन्तुलनका आधारमा पद बाँडफाँड हुनुपर्ने भट्टराई र श्रेष्ठको दाबी छ ।
सचिवका दाबेदारमध्ये सबैभन्दा वरिष्ठ शेरचन हुन् । २०४८ सालमा जनमोर्चा नेपालको अध्यक्षसमेत भइसकेका उनले आफूलाई कुनै गुटमा नलागेको दाबी गर्दै आएका छन् । यसअघि उनलाई पार्टीको आर्थिक विभाग संयोजकको जिम्मा दिइएको थियो ।
पछिल्लो समय दाहाल पक्षमा खुलेर लागेका महराले आफूलाई कार्यकारी जिम्मेवारी दिनुपर्ने प्रस्ताव दाहालसमक्ष रोखेको स्रोतले जनायो । पार्टीमा अन्तरसंघर्ष चर्किएका बेला महराले वैद्यसँग धेरै पटक वार्ता गराएका थिए । उपाध्यक्ष श्रेष्ठले आफ्नो पक्षका नेतालाई केन्द्रीय पदाधिकारी पद दिनुपर्ने दबाब दाहाललाई दिएका छन् । धोबीघाट मोर्चामा श्रेष्ठबाट धोका पाएको दाहालले महसुस गरेको निकट स्रोतले जनायो । फेरि पार्टीभित्र अन्तरसंघर्ष चल्यो भने निर्णायक भूमिकामा रहेका श्रेष्ठ पक्षलाई बेवास्ता गरेर दाहाल जान सक्दैनन् ।
स्थायी समिति सदस्यहरू देव गुरुङ, नेत्रविक्रम चन्द नयाँ पार्टीमा गइसकेकाले ती दुई पदका आकांक्षी पनि छन् । जसमा दाहाल पक्षका वरिष्ठ पोलिटब्युरो सदस्य हरिबोल गजुरेल, अग्नि सापकोटा र भट्टराई पक्षका देवेन्द्र पौडेलले दाबी गर्ने सम्भावना छ । त्यस्तै ९ जना पोलिटब्युरो सदस्यहरू नयाँ पार्टीमा गएकाले ती पद पनि खाली छन् ।
पदाधिकारी पदका दाबेदारबारे भित्रभित्रै चर्चा भए पनि असार अन्तिम साता बस्ने पोलिटब्युरो बैठकमा यसबारे विस्तृत चर्चा हुनेछ । त्यसपछि बस्ने केन्द्रीय समिति बैठकले निर्णय गरेपछि साउन पहिलो साता हुने सातौं विस्तारित बैठकले पदाधिकारी अनुमोदन गर्नेछ ।
प्रवक्ता दीनानाथ शर्माले खाली पद विस्तारित बैठकले पूर्ति गर्ने बताए । 'खाली पदमा हाल छलफल भएको छैन,' उनले भने, 'यो विस्तारित बैठकले टुंगो लगाउने छ ।'
भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पदाधिकारीदेखि तल्लो निकायसम्म हैसियत, योग्यता, क्षमता हेरै चयन गर्नुपर्ने बताए । 'सबै सन्तुलित बनाएर चयन गर्नुपर्छ,' उनले भने, 'यो काम विस्तारित बैठकले गर्नेछ ।'
नेकपा-माओवादीको केन्द्रीय समिति जम्बो हुने 
मोहन वैद्य अध्यक्ष रहेको माओवादीको केन्द्रीय समिति करिब सय सदस्यीय हुने भएको छ । संस्थापनबाट ४४ केन्द्रीय सदस्य फुटेर गएको उक्त पार्टीमा नयाँ सदस्य थपेर सयको हाराहारीमा पुर्‍याउनेबारे पार्टी स्थायी समितिमा छलफल भएको छ ।
उक्त पार्टीमा पनि केन्द्रीय सदस्य बन्न चाहनेहरूको सूची लामो भएकाले छनोट गर्न गाह्रो भएको एक पोलिटब्युरो सदस्यले जनाए । एक सयको हाराहारी केन्द्रीय समिति भयो भने एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ स्थायी समिति हुने छ । केन्द्रीय सदस्य चयन गर्न कठिन भएकाले शुक्रबार बस्ने भनिएको पोलिटब्युरोको बैठक बस्न सकेन । केन्द्रीय समिति विस्तार भयो भने पोलिटब्युरो सदस्य पम्फा भुसाल, नारायण शर्मा, हरिभक्त कँडेल, खड्गबहादुर विश्वकर्मा स्थायी समिति सदस्य हुने सम्भावना छ ।
स्रोतका अनुसार एकता केन्द्र मसालबाट एकीकृत माओवादीमा आएका शशि शेरचन -सोनाम साथी) लाई माओवादीमा तानेर उपाध्यक्ष पद दिने तयारी भइरहेको स्रोतले जनाएको छ । उनले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेपछि राष्ट्रिय भेला बहिष्कार गरेका थिए ।
पार्टीको पदाधिकारी तहमा भने तत्काल पद नबढाइने स्रोतले जनायो । हाल अध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेल छन् । फागुनमा महाधिवेशन गर्ने तय भएकाले त्यहींबाट अन्य पदाधिकारी चयन गर्ने निष्कर्षमा माओवादी पुगेको छ । नयाँ पार्टीको महासचिवमा नेत्रविक्रम चन्दको चर्चा भए पनि उनले महाधिवेशनबाट चयन हुने मनस्थिति बनाएको स्रोतले जनायो ।
प्रकाशित मिति: २०६९ असार ९ ०९:३०

No comments: