Thursday, June 21, 2012

नेकपा-माओवादी विसर्जनवादी’

काठमाडौ, असार ६ -
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटेपछि औपचारिक धारणा सार्वजनिक गर्दै मोहन वैद्य नेतृत्वको नेकपा, माओवादीलाई 'वामपन्थी लपmफाजीसहितको विसर्जनवादी' को संज्ञा दिएका छन् ।

स्थायी समिति बैठकपछि दाहालले औपचारिक धारणा सार्वजनिक गरी नयाँ पार्टीको घोषणा यान्त्रिक संकीर्णवाद भएको आरोप लगाए । 'अन्तरसंघर्षका क्रममा पार्टीले लगाउँदै आएको वैचारिक रूपले यान्त्रिक संकीर्ण र जडसूत्रवादी, राजनीतिक रूपले वामपन्थी लफ्फाजीसहितको विसर्जनवादी र संगठनात्मक रूपले अराजकतावादी विचलनको आरोपलाई वैद्य समूहको यो घोषणाले पुष्टिमात्र गरेको छ,' विज्ञप्तिमार्फत उनले भौतिक आक्रमण हुन सक्ने भन्दै सजग बनाएका छन्, 'मोहन वैद्य पक्षको फुटपरस्त र विसर्जनवादी विचलनलाई अझ उग्ररूप दिएर क्रान्तिकारीकै बीच भौतिक संघर्षको शृंखला खडा गर्ने प्रतिक्रान्तिकारी षड्यन्त्रप्रति सजग र सतर्क रहन पनि पार्टी सम्पूर्ण क्रान्तिकारी एवं जनसमुदायसँग विशेष अपिल गर्न चाहन्छ ।'

 दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले सुरुमा हल्ला बढी भए पनि खासै प्रभाव नपार्ने निष्कर्ष निकालेको थियो । 'वैद्यजीहरूसँग स्पष्ट कार्यदिशा छैन' प्रवक्ता दीनानाथ शर्मा कान्तिपुरसँग भने, 'उहाँहरू बाटो बिराएर जंगलमा फस्नु भएको छ । अकर्मण्यतामा फस्नु भएको छ ।'

फुटेर गएको माओवादीविरुद्ध वैचारिक संघर्ष गर्नसमेत दाहालले निर्देशन दिएका छन् । 'वैद्य पक्षको फुटपरस्त र विसर्जनवादी विचलनविरुद्ध वैचारिक संघर्षलाई ध्वंसात्मक र शत्रुतापूर्ण रूपमा होइन तथ्य र तर्कका आधारमा मित्रतापूर्ण रूपमा सञ्चालन गर्न पनि पार्टी सम्पूर्ण कमिटी र सदस्यहरूलाई विशेष आग्रह गर्छ,' दाहालले जारी गरेको वक्तव्यमा भनिएको छ ।

 प्रवक्ता शर्माले फुटेर गएको वैद्य समूहविरुद्ध चर्को भाषा प्रयोग गर्नु आवश्यक नभएको भन्दै नरम शब्द प्रयोग गरिएको बताए । एमाओवादीले वैद्यले नेतृत्व गरेको माअेावादीले 'जनयुद्ध र जनविद्रोहको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेको छ । 'फेरि जनयुद्धको र जनविद्रोहको कुरा गर्नुले हास्यास्पद वितण्डालाई मात्र पुष्टि गर्दछ,' उसले आफ्नो निर्णयमा भनेको छ ।

 उसले वैद्य पक्षको 'वितण्डतावादी र विसर्जनवादी भ्रममा नपर्न' कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी फुटाउने कार्य गैरजिम्मेवारी भएको उसको ठहर छ । एमाओवादीको निर्णयमा भनिएको छ, 'पार्टी, क्रान्ति, राष्ट्र र जनताप्रतिको आफ्नो गैरजिम्मेवार, फुटपरस्त र विसर्जनवादी कथित राष्ट्रिय भेलालाई विजयको संज्ञा दिनु निम्नपुँजीवादी आत्मरति सिवाय अरू केही हुन सक्तैन ।'

 प्रवक्ता शर्माका अनुसार एमाओवादीले अन्य कम्युनिस्ट पार्टीसँग वार्ता गर्न स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा, वर्षमान पुन र शर्मा रहेको समिति बनाएको छ । 'सबै क्रान्तिकारी, वामपन्थी शक्तिहरूसँग वार्ता गर्न समिति बनाएको हो,' उनले भने, 'यसबीचमा वैद्यजीहरूसँग पनि कुरा हुन सक्छ ।'



विस्तारित बैठक सर्‍यो

एमाओवादीले असार १५ देखि गर्ने भनिएको सातौं विस्तारित बैठक साउन एक गतेदेखि गर्ने निर्णय स्थायी समितिले गरेको छ । बैठक गर्नुअघि राज्य, जिल्ला समितिका बैठक गर्ने भन्दै पर सारेको हो । 'साउन एक गतेदेखि पाँच गतेसम्म काठमाडौंमा विस्तारित गर्ने निर्णय भएको छ,' प्रवक्ता शर्माले भने, 'राजनीतिक र वैचारिक रूपमा देशव्यापी अभियान चलाउने कुरा पनि भएको छ ।'

राजधानीको पेरिसडाँडास्थित पार्टी कार्यालय संस्थापनको हुने भएको छ । वैद्य पक्ष अल्पमतमा रहेकाले उक्त पार्टी कार्यालय स्वतः आफ्नो भएको संस्थापनको दाबी छ ।

 केन्द्रीय कार्यालय भ्रातृसंगठन अखिल नेपाल ट्रेड युनियन महासंघको नाममा रहेको अध्यक्ष शालिकराम जमरकट्टेलले बताए । 'पार्टी कार्यालय महासंघको नाममा छ, यो पार्टी स्वतः संस्थापनको हुन्छ,' उनले भने ।

 कार्यालय किन्ने बेला वैद्य पक्षमा लागेका उद्योग व्यापार संघका अध्यक्ष शिव कट्टेलको नाममा रहेको र एक महिनापछि महासंघको नाम दर्ता गरिएको जमरकट्टेलले जनाए । पार्टी कार्यालय बाहिर चमेनागृह रहेको जग्गा भने कट्टेलको नाममा छ ।

प्रकाशित मिति: २०६९ असार ७ ०८:३८

No comments: