Thursday, June 21, 2012

फुटेरै छाड्यो माओवादी

गंगा बीसी 
 

काठमाडौ, असार ४ -
तीन वर्षदेखि अन्तरसंघर्षमा गुजि्रएको 'एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी' अन्ततः औपचारिक रूपमै विभाजन भएको छ । उपाध्यक्ष मोहन वैद्य पक्षको राष्ट्रिय भेलाले संस्थापनबाट छुटेर नयाँ नाम 'नेपाल कम्युनिस्ट पार्टी, माओवादी' घोषणाको निर्णय गरेपछि औपचारिक विभाजन भएको हो ।

राजधानीको बौद्धस्थित शेर्पा सेवा केन्द्रको हलमा भएको भेलामा वैद्यले पार्टी औपचारिक रूपमा विभाजन भएको घोषणा गरेका हुन् । 'संस्थापनसँग औपचारिक रूपमा विच्छेद भएको छ,' वैद्यले करिब दुई हजार पाँच सय कार्यकर्ताको भेलामा भने, 'अब नयाँ ढंगको क्रान्तिकारी पार्टी बनेको छ ।'

यसअघि भेलामा पार्टीको नाम नेकपा -क्रान्तिकारी माओवादी) प्रस्ताव गरिएको थियो । भेलाले पार्टीको नाम नेकपा, माओवादी राख्ने सुझाव दिएपछि त्यसलाई अनुमोदन गरिएको थियो ।

भेलाले पार्टीको नेतृत्व वैद्यले गर्ने गरी ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । महासचिवमा रामबहादुर थापा, सचिवमा सीपी गजुरेल र स्थायी समितिमा देव गुरुङ र नेत्रविक्रम चन्द छन् । वैद्य, थापा र गजुरेल रहेको केन्द्रीय पदाधिकारी बनाइएको छ । पोलिटब्युरोमा हितमान शाक्य, हरिभक्त कँडेल, पम्फा भुसाल, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा, धमेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल छन् । पार्टी गठन भए पनि पोलिटब्युरोसम्मका नेताहरूको पद भने पहिलेकै तय गरिएको छ । विधानमा ७५ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिए पनि आन्तरिक जिम्मेवारी मिलाउने भन्दै हाल पुरानै पदमा रहने निर्णय भएको थियो ।

पार्टी फुटेको औपचारिक घोषणा भने मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने भएको छ ।

अब बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विस्तार गर्नेछ । भेलाले 'जनयुद्ध' को थालनी गरेको दिन फागुन पहिलो साता महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । पार्टी फुटे पनि क्रान्तिकारी कार्यदिशा लिएर आएमा संस्थापनसँग पुनः एकता गर्न सकिने वैद्यले भेलामा बताएका थिए ।

उनले अध्यक्ष दाहालले पार्टी नफुटाउन आग्रह गरेको जानकारी दिँदै आफूले ठाडै अस्वीकार गरेको भेलामा सुनाएका थिए ।  दाहालले आइतबार राति वैद्यलाई फोन गरी सकेसम्म पार्टी नफुटाउन आग्रह गरेका थिए । सोमबार बिहान दसवर्षे सशस्त्र युद्धको आधारमा टेकेर जनविद्रोह गर्ने दाबी वैद्यले भेलामा ३राखेका थिए । उनले छापामार युद्ध गर्ने प्रचार गलत भएको दाबी गरेका थिए । 'अब फेरि छापामार युद्ध गर्ने भन्ने प्रचार गलत हो,' उनको भनाइ थियो, 'हामी जनयुद्धको बलमा जनविद्रोहमा अघि बढ्नुपर्छ ।'

बौद्धस्थित शेर्पा सेवा समितिको हलमा भएको बन्दसत्रमा २१ समूहमध्ये अधिकांश टोली नेताले नयाँ पार्टी घोषणा गर्नुपर्ने माग गरेका थिए ।

भेलाले अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई 'दक्षिणपन्थी र नवसंशोधनवादी समूह' नामकरण गर्ने निर्णय पनि गरेको छ । संविधानसभा विघटन भएकामा खेद व्यक्त गर्दै सरकारले मंसिरमा घोषणा गरेको संविधानसभाको निर्वाचनको पनि भेलाले भत्र्सना गरेको छ ।

केन्द्रीय सदस्य महेन्द्र पासवानले पार्टीले 'नयाँ जनवादी क्रान्ति' गर्ने बताए । 'यो नयाँ  जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशा हो,' उनले भेलापछि भने, 'त्योमध्ये जनविद्रोहको बाटो पनि एक हो ।'

भेलाको समापनमा 'साम्राज्यवाद विस्तारवाद मुर्दावाद, मालेमावाद जिन्दावाद' नारा लगाइएको थियो ।

कस्ता छन् नयाँ पार्टीका नेता अध्यक्ष वैद्य माक्र्सवादी दर्शनमा दख्खल भएका नेता हुन् । महासचिव रामबहादुर थापा सशस्त्र युद्ध सुरु गर्ने बेलादेखि रुकुम, रोल्पामा संगठन गरेका लामो अनुभव छ । सचिव सीपी गजुरेलले पार्टीको अन्तर्राष्ट्रिय विभागमा काम गरेका थिए । स्थायी समिति सदस्यद्वय देव गुरुङ र नेत्रविक्रम चन्द पार्टीमा बलियो छवि बनाएका नेतामा पर्छन् । पोलिटब्युरो सदस्यहरू हितमान शाक्य, पम्फा भुसाल, नारायण शर्मा, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला यसअघि पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी पाइसकेका नेता हुन् ।

त्यस्तै जनवर्गीय संगठनहरू महिला अध्यक्ष जयपुरी घर्ती, शिक्षक अध्यक्ष गुणराज लोहनी, विद्यार्थीका लेखनाथ न्यौपाने, दलित अध्यक्ष तिलक परियार, बेपत्ता परिवार समाजका अध्यक्ष एकराज भण्डारी, उद्योग व्यापार संघका अध्यक्ष शिव कट्टेल, कर्मचारी संगठनका अध्यक्ष रुक्म लामिछाने नवगठित पार्टीमा लागेका छन् ।

पेरिसडाँडा पार्टी कार्यालय कसको ?

हाल कोटेश्वर पेरिसडाँडामा रहेको माओवादीको केन्द्रीय कार्यालय वैद्य पक्षमा लागेका उद्योग व्यापार संघका अध्यक्ष शिव कट्टेलको नाममा छ । पार्टी कार्यालय किन्दा एक सहकारीबाट लिएको एक करोडभन्दा बढी ऋण पनि कट्टेलकै नाममा छ । वैद्य पक्षको भेलामा यो पार्टी कार्यालयबारे पनि कुरा उठेको थियो । हाल वैद्य पक्षले सम्पर्क कार्यालय ललितपुरको कुपन्डोलमा सञ्चालन गर्दै आएको छ ।





वैद्य पक्षमा कुन-कुन नेता ?




मोहन वैद्य, रामबहादुर थापा, चन्द्रप्रसाद गजुरेल, देवप्रसाद गुरुङ, नेत्रविक्रम चन्द, हितमान शाक्य, नारायण शर्मा, हरिभक्त कँडेल, पम्फा भुसाल, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल, हर्कबहादुर शाही, सन्तोष बुढामगर, पूर्ण घर्ती, श्रीराम ढकाल, सूर्यप्रकाश सुवेदी, ईश्वरी दाहाल, जयपुरी घर्ती, यशोदा सुवेदी, अमृता थापा मगर, मायाप्रसाद शर्मा, सरला रेग्मी, उमा भुजेल, सुरेश आले मगर, श्रीनाथ अधिकारी, चन्द्रहरि सुवेदी, पवनमान श्रेष्ठ, दिलीप प्रजापती, अनिल शर्मा, कुमार दाहाल, महेन्द्र पासवान, कृष्णदेव सिंह, पदम राई, सावित्रीकुमार काफ्ले, दिनेश शर्मा, भरत बम, कृष्णध्वज खड्का, रेखा शर्मा, महेश्वर दाहाल, राम आचार्य, ओमप्रकाश पुन, बाबुराम नेपाली, कृष्ण राई । -माओवादीका १४९ केन्द्रीय सदस्यमध्ये भेलामा यी ४५ जना उपस्थित थिए ।)



किन भयो विभाजन ?

माओवादी शान्ति प्रक्रियामा आएदेखि नै वैद्य पक्ष असन्तुष्ट रहँदै आएको थियो । २०६२ सालमा भएको चुनबाङ बैठकले लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशाप्रति भित्री रूपमा असहमत थियो । त्यसबेला वैद्य भारतको सिलगुढी जेलमा रहेकाले उनले त्यो बैठकमा भाग लिन पाएनन् र खास विरोध हुन पाएन ।

जनआन्दोलन-२ पछि पनि उपाध्यक्ष मोहन वैद्य र सचिव सीपी गजुरेल भारतको जेलमै रहे । त्यतिबेला अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराईलगायत नेता राजधानी आएर कांग्रेस-एमालेसँग धेरै सहमति गरिसकेका थिए । २०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता गरेपछि वैद्य पक्ष झनै बिच्कियो । किनभने त्यही सम्झौताले सशस्त्र युद्धलाई औपचारिक रूपमा समाप्त गरेको थियो । केन्द्रीय समितिबाट उक्त सम्झौता पारित नगराई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेको भन्दै वैद्य पक्षले विरोध गर्दै आएको थियो । २०६५ मंसिरको खरिपाटी बैठकमा वैद्यले दाहालविरुद्ध जनविद्रोहको कार्यदिशा ल्याएपछि अन्तरसंघर्षले चर्को रूप लिएको थियो । त्यसबेला दाहालले वैद्यका जनविद्रोहलगायत विषय समेटेर एकीकृत दस्तावेज बनाएपछि विवाद केही साम्य भएको थियो । २०६७ मंसिरमा गोरखाको पालुङटार बैठकमा वैद्यले पुनः अर्को दस्तावेज राखे, जनविद्रोहकै कार्यदिशा लिएर । धेरै विषयमा दाहाल र वैद्यको एकरूपता देखियो भने अर्का उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानको पक्षमा फरक दस्तावेज राखे । त्यसपछि केही समय दाहाल र वैद्य सँगै रहे । गत भदौमा भट्टराई प्रधानमन्त्री बनेपछि संस्थापन र वैद्य पक्षबीच दूरी बढेको हो । भट्टराई सरकारमा गएर शान्ति प्रक्रियाका काम अघि बढाएपछि वैद्य पक्ष झनै बिच्कियो । उसले संस्थापनले सेना समायोजनका विषयमा आत्मसमर्पण गरेको, जनविद्रोहको कार्यदिशा त्यागेको भन्दै खुला रूपमा विरोध गर्न थालेको थियो ।

गत चैतमा लडाकु, हतियार र शिविर नेपाली सेनालाई जिम्मा लगाएपछि वैद्य पक्ष एउटै पार्टीमा बस्न नसक्ने निष्कर्षमा पुगेको हो । त्यसबेलादेखि नै उसले छुट्टै समानान्तर संरचना बनाउन थालिसकेको थियो । 'जनयुद्धको जगमा जनविद्रोह' हुन सक्ने वैद्य पक्षको निष्कर्ष छ । संस्थापनमा भारतीय प्रभाव बढी परेको भन्दै वैद्य पक्षले छुट्टै पार्टी खोलेर नयाँ बाटो रोजेको हो । कट्टरवादी कम्युनिस्ट विचारको वैद्य पक्ष र अन्य दलसँग सहकार्य गरी अघि बढ्ने संस्थापन पक्षबीच कार्यदिशामा कुरा नमिल्दा पार्टी विभाजन हुन पुगेको हो ।

प्रकाशित मिति: २०६९ असार ५ ०८:५७

No comments: