Thursday, June 28, 2012

नेकपा - माओवादी रणनीति

फागुनदेखि नयाँ आन्दोलन

  • आन्दोलन थाल्न महाधिवेशन छिटो

काठमाडौ, असार १५ - नवगठित नेकपा- माओवादीले फागुनको पहिलो साता गर्ने भनिएको महाधिवेशन दुई महिना अघि सारी पार्टी नेतृत्व, संगठन र संघर्षका कार्यक्रम व्यवस्थित गराउने निर्णय गरेको छ । संस्थापन पार्टी दक्षिणपन्थी बाटोमा गएको भन्दै मोहन वैद्यको नेतृत्वमा नेकपा-माओवादी नामको नयाँ पार्टी बनाएपछि उसले 'जनयुद्धको जगमा जनविद्रोह' मा जाने औपचारिक निर्णय गरिसकेको छ ।
 दस वर्षे सशस्द्ध युद्ध सुरु गरेको फागुन एक गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको माओेवादीले दुई महिनाअघि महाधिवेशनबाट अनुमोदन गराए 'नयाँ आन्दोलन थालनी' गर्ने करिब निश्चित छ । आन्दोलनको स्वरूप कस्तो हुने भन्नेबारे त्यसबेला नै महाधिवेशनले टुंगो लगाउनेछ । त्यसअघि उसले संघर्षका कार्यक्रम घोषणा गरे पनि मुख्य गरी देशव्यापी संगठन बनाउने तयारी गरेको छ । पार्टी विभाजनपछि एकीकृत माओवादीभन्दा कमजोर संगठनलाई सशक्त बनाउने प्रमुख काम उसको हुनेछ । संगठनको निर्माणका क्रममा उसले जनविद्रोहको कार्यदिशालाई कार्यकर्ता र सर्वसाधारणमाझ पुर्‍याउनेछ ।
 सांगठनिक तयारी बलियो भएपछि संघर्ष अघि बढाउन सकिने विश्वास गर्दै माओवादीले संगठन सानै भए पनि 'मिलिट्यान्ट' बनाउने उसको घोषित नीति हो । संगठन सुदृढ गरेपछि फागुनदेखि उसले 'जनविद्रोह'को तयारी औपचारिक रूपमा थाल्नेछ । त्यसअघि उसले सरकारसमक्ष माग प्रस्तुत गर्नेछ ।
पोलिटब्युरो सदस्य नारायण शर्माले गोलमेच सभा वा अन्य आन्दोलन गर्दा संगठन निर्माण गर्नुपर्ने भएकाले दुई महिनाअघि महाधिवेशन सार्ने निर्णय भएको बताए । 'गोलमेच सभा, वार्ता वा संघर्ष जे गरे पनि पार्टीको लागि संगठन आवश्यक भएको हुनाले महाधिवेशन अघि सारिएको हो,' उनले भने, 'आन्दोलनमा जानुपर्‍यो भने झन् संगठन बलियो चाहिन्छ ।'
यस्तो छ नेताहरूको कार्यविभाजन पार्टी विभाजनपछि बसेको केन्द्रीय समिति बैठकले नेताहरूको कार्यविभाजन गरेको छ । जसमा अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सीपी गजुरेल, महासचिवमा रामबहादुर थापा, सचिवमा देव गुरुङ तथा नेत्रविक्रम चन्द समावेश गरी केन्द्रीय पदाधिकारीहरूको गठन गरेको छ ।
 विज्ञप्तिअनुसार, पूर्वाञ्चल ब्युरो  -लिम्बुवान, कोचिला तथा किरात राज्य) को इन्चार्जमा खड्गबहादुर विश्वकर्मा, मधेस ब्युरो -मिथिला, भोजपुरा, अवध) को इन्चार्जमा हरिभक्त कँडेल, मध्यमाञ्चल ब्युरो नमम्वाज -नेवाः, ताम्सालिङ) को इन्चार्जमा हितमान शाक्य, पश्चिमाञ्चल ब्युरो -मगरात, तमुवान) को इन्चार्जमा इन्द्रमोहन सिग्देल, सुदूर पश्चिमाञ्चल ब्युरो -सेम, भेक, थारूवान) को इन्चार्जमा कुलप्रसाद केसी, अन्तर्राष्ट्रिय ब्युरोको इन्चार्जमा धर्मेन्द्र बाँस्तोला, जबस मोर्चाब्युरोको इन्चार्जमा नारायण शर्मा,प्रचार/प्रसार ब्युरो इन्चार्जमा पम्फा भुसाल, युवा परिचालन ब्युरोको इन्चार्जमा नेत्र विक्रम चन्दलाई जिम्मा दिएको छ ।
 त्यस्तै, कोष तथा लेखा विभागमा चन्द, अनुशासन एवं अनुगमन विभागमा हर्कबहादुर शाही, अन्तर्राष्ट्रिय विभागमा गजुरेल, स्कुलिङ विभाग तथा केन्द्रीय सल्लाहकार समितिको इन्चार्जमा वैद्य, संयुक्त मोर्चाको इन्चार्जमा गजुरेल तथा सह-इन्चार्जमा देव गुरुङलाई समावेश गरी जिम्मेवारी दिइएको छ । त्यसैगरी अर्थ तथा कानुन लगायतका अध्ययन अनुसन्धानसँग सम्बन्धित विभिन्न विभागहरूको इन्चार्जमा गुरुङ, दलित विभाग इन्चार्जमा विश्वकर्मा, महिला विभागको इन्चार्जमा पम्फा भुसाल, जातीय क्षेत्रीय विभागको इन्चार्जमा सुरेश आले मगर, स्वास्थ्य विभागको इन्चार्जमा रेखा शर्मा, बुद्धिजीवी विभागमा कृष्णध्वज खड्का, शिक्षा संस्कृतिमा विभागमा नारायण शर्मा र सहिद बेपत्ता अपांगसम्बन्धी प्रतिष्ठानको इन्चार्जमा वैद्यलाई जिम्मेवारी दिइएको छ ।


 

No comments: