Monday, June 25, 2012

नया माओवादीमा कसले के जिम्मा पाए ?

काठमाडौ, असार १२ - नवगठित नेकपा-माओवादीले केन्द्रीय समिति विस्तार नगर्ने टुंगो गरे पनि केन्द्रीय पदाधिकारीको पद विभाजन गरेको छ । पार्टीको स्थायी र पोलिटब्युरो बैठकले स्थायी समिति सदस्यहरूको पदविभाजन गरी केन्द्रीय समितिमा अनुमोदनका लागि लगेको हो ।
ललितपुरको कुपन्डोलस्थित सम्पर्क कार्यालयमा सोमबार सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिवमा नेत्रविक्रम चन्द र देव गुरुङको नाम प्रस्ताव गरिएको छ । यसअघि गजुरेल सचिव र चन्द/गुरुङ स्थायी समिति सदस्य थिए । महासचिव थापालाई भने निरन्तरता दिइएको छ । यसअघि चन्द महासचिव हुने चर्चा थियो ।
पार्टी प्रवक्तामा पम्फा भुसालको नाम प्रस्ताव भएको छ । प्रस्तावित नामलाई केन्द्रीय समितिले अनुमोदन गर्ने एक सदस्यले बताए । 'प्रस्तावित नामहरूमा छलफल गरी केन्द्रीय समितिले अनुमोदन गर्नेछ,' ती केन्द्रीय सदस्यले भने, 'केन्द्रीय समिति विस्तार तत्काल नगर्ने निर्णय भएको छ ।' केन्द्रीय समिति विस्तार गर्दा ठूलो हुने र त्यसलाई व्यवस्थापन गर्न कठिनाइ हुने कारण देखाई तत्काल स्थगित गरिएको हो ।
केन्द्रीय समिति बैठकमा राज्य समितिका इञ्चार्जहरूको नाम पनि प्रस्ताव गरिएको छ, जसमा सेती-महाकाली इञ्चार्जमा ओमप्रकाश पुन, थारूवानमा पूर्ण घर्ती, मगरातमा सन्तोष बुढा, तमुवानमा अमृता थापा, नेवाःमा यशोदा सुवेदी, अवधमा चन्द्रहरि सुवेदी, ताम्सालिङमा दिनेश शर्मा, कोचिलामा सावित्रीकुमार काफ्ले, भोजपुरामा राम आचार्य, किराँतमा पदम राई, मिथिलामा कृष्णदेवसिंह दनुवार र भेरी-कर्णालीमा मायाप्रसाद शर्माको नाम प्रस्ताव गरिएको छ । लिम्बुवान इञ्चार्जको टुंगो लाग्न बाँकी छ ।
त्यस्तै माओवादीले छवटा विशेष ब्युरो बनाउने भएको छ । ती ब्युरोको इञ्चार्जमा वरिष्ठ पोलिटब्युरो सदस्यहरूलाई प्रस्ताव गरेको छ, जसमा सुदूरपश्चिम ब्युरोमा कुलप्रसाद केसी, मधेस ब्युरोमा हरिभक्त कँडेल छन् ।
पूर्वाञ्चल ब्युरोमा खड्गबहादुर विश्वकर्मा, मध्यमाञ्चल ब्युरोमा हितमान शाक्य, मध्यपश्चिम ब्युरोमा इन्द्रमोहन सिग्देल र प्रवास ब्युरोमा धर्मेन्द्र बास्तोलाको नाम प्रस्ताव गरिएको छ । यसअघि एकीकृत माओवादीले पश्चिम, मध्य र पूर्व गरी तीन ब्युरो बनाएको थियो । जनवर्गीय संगठनको जिम्मा जयपुरी घर्ती, प्रचारप्रसारको महेश्वर दाहाल, कर्मचारीको कृष्णध्वज खड्का, प्राध्यापकको रेखा शर्मा, गणतान्त्रिक मोर्चाको ईश्वरी दाहाल र जातीय/क्षेत्रीय मोर्चाको सुरेश आलेमगरले पाएका छन् । पार्टीको युवा संगठन जनस्वयंसेवक ब्युरोको जिम्मा सचिवको नाम प्रस्ताव गरिएका स्थायी समिति सदस्य नेत्रविक्रम चन्द आफंैले लिएका थिए । एकीकृत पार्टी छँदै चन्दको संयोजकत्वमा उक्त ब्युरो बनाइए पनि त्यसलाई निष्प्रभावी राखिएको थियो ।
नवगठित माओवादीले जातीय/क्षेत्रीय आधारमा नाम राखिएका ब्युरोमा अन्य थपेर २४ राज्य बनाएको एक केन्द्रीय सदस्य जानकारी दिए । पार्टी विभाजनपछि पहिलोपटक बसेको माओवादी केन्द्रीय समिति बैठकले प्रस्तावित नेताहरूको जिम्मेवारी अनुमोदन गर्नेछ । यसअघि केन्द्रीय समिति विस्तार गर्ने तयारी भए पनि आकांक्षीहरूको सूची लामो भएकाले तत्काल विस्तार नगर्ने निर्णय गरिएको हो । हाल माओवादीको केन्द्रीय समिति ४५ सदस्यीय छ ।
प्रस्तावित प्रवक्ता पम्फा भुसालले केन्द्रीय समिति बैठकमा राजनीतिक, सांगठनिक र संघर्षको प्रस्तावमा छलफल भइरहेको बताइन् । 'यी प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ,' उनले भनिन् । असार पहिलो साता राजधानीको बौद्धमा भएको राष्ट्रिय भेलाले पारित गरेको 'जनयुद्धको जगमा जनविद्रोह वा जनक्रान्तिको तयारी गर्नु प्रमुख कार्यभार' भएको राजनीतिक प्रस्तावलाई थप परिमार्जन गरी पारित गर्नेछ ।
प्रकाशित मिति: २०६९ असार १२ ०८:४२

No comments: