Thursday, June 21, 2012

आवश्यक परे जनयुद्ध वा जनविद्रोहः नेकपा-माओवादी


गंगा बीसी

काठमाडौ, असार ५ -
नवगठित नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले आवश्यक परे सशस्त्र युद्ध वा जनविद्रोह गर्ने चेतावनी दिएका छन् । पार्टी घोषणा गरेको अर्को दिन वैद्यले संसदीय प्रणालीविरुद्ध संघर्ष गर्दै मुलुकमा 'जनवादी गणतन्त्र' स्थापना गर्ने दाबी गरे । 

राजधानीको प्रज्ञा प्रतिष्ठानमा औपचारिक रूपमा पार्टी घोषणा कार्यक्रममा आक्रोशित मुद्रामा प्रस्तुत भएका वैद्यले संविधानसभा समेत असफल भइसकेको बताए । 'हामी संसद्वादका विरुद्ध नयाँ जनवादका लागि क्रान्ति गर्न जाने हो । लोकतान्त्रिक गणतन्त्र मक्किएको संसद्वादी प्रणाली हो, संविधानसभा असफल भइसक्यो,' उनले भने, 'देश र जनताका लागि जनवादी गणतन्त्र स्थापनाका लागि जान्छौं । त्यो प्राप्तिका लागि कानुनी, गैरकानुनी साधन प्रयोग गछौर्ं । हामी गल्दैनौं, आवश्यक पर्‍यो भने जनयुद्ध, जनविद्रोह जे पनि हुन सक्छ ।'

वैद्यले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तत्काल योजना नरहेको बताए । उनले आवश्यकताअनुसार पार्टी दर्ता गर्न पनि सकिने जनाए । 'पार्टी दर्ता गर्ने र नगर्ने भन्ने कुरा स्थिति हेरेर गर्ने कुरा हो,' उनको भनाइ थियो, 'मुख्य कुरा जनताको अधिकार कसरी सुनिश्चित हुन्छ भन्ने कुरा हो ।' उनले संस्थापनभन्दा सानो पार्टी भए पनि पछि ठूलो हुने विश्वास व्यक्त गरे ।

करिब दुई हजार कार्यकर्तामाझ मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा वैद्यले तत्काल जनविद्रोह हुने अवस्था नभएको बताए पनि तयारी भने तुरुन्तै थाल्ने जनाए । 'जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको समेत रक्षा गर्दै हक र अधिकार प्राप्तिका लागि आन्दोलनमा जाने हो,' उनले भने, 'जनविद्रोह बारम्बार भन्दै आएका हौं । जनविद्रोह ठीक ढंगले तुरुन्तै हुने सम्भावना त छैन । तर हामीले जनविद्रोहको तयारी जनक्रान्तिमा जानुपर्छ भन्ने समझदारी बनाएका छौं ।'

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईलाई भारतको 'दलाल' को आरोप लगाउँदै वैद्यले उनीहरू नसच्चिएसम्म एकता हुन नसक्ने बताए । दाहाल आफूतिर आए मात्र एकता हुने पनि उनले बताए । 'प्रचण्डसँग यो अवस्थामा हुँदैन, कुनै मान्छे बदलिएर आउँछ भने हामीले ढोका बन्द गरेका छैनांै,' उनले भनाइ थियो, 'प्रचण्डसँग हामी जाँदैनौं, प्रचण्ड हामीसँग आउनुपर्छ ।'

राष्ट्रिय भेलाको निर्णय सुनाउँदै महासचिव रामबहादुर थापाले दाहाल र भट्टराईमा विचलन पैदा भएको भन्दै उनीहरू 'दक्षिणपन्थी नवसंशोधनवादी' मा रूपान्तरण भएको आरोप लगाए ।

'यस ऐतिहासिक राष्ट्रिय भेलाको एउटा मूल निष्कर्षका रूपमा प्रचण्ड तथा बाबुराममा गम्भीर प्रकारको दक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा भएको ठहर गरिएको छ,' उनले भने, 'क्रान्ति र महान् जनयुद्धको प्रक्रियामा प्रचण्ड र बाबुरामद्वारा सकारात्मक भूमिका पनि निर्वाह गरिएको कुरालाई स्वीकार गर्दै पछिल्लो अवधिमा दुवैमा गम्भीर प्रकारको विचलन पैदा भएको निष्कर्ष निकालिएको छ ।'

कार्यक्रममा वैद्यले पार्टीलाई दलालबाट बचाउन विद्रोह गरेको दाबी गरे । 'पार्टीमा अवसरवाद, विस्तारवाद र सामन्तवादको दलाली गर्न दिँदैनौं,' उनले भने, 'जनताको रक्षाका लागि विद्रोह गर्नु परेको हो ।'

वैद्यले विस्तृत शान्ति सम्भ्fmौता गर्दा विघटन भएको जनसत्ता ब्युँझाउने पनि बताए । उनले यो हालतमा संविधान बन्न नसक्ने दाबी गरे । 'नेताहरूले रातदिन झगडा गरेर जनताको संविधान बन्दैन । संविधान नबनेको अवस्थामा सबै जनता मिलेर संविधान बनाउने कुरा आउँछ । संविधानसभाको निर्वाचन प्रस्ताव गलत कुरा हो,' उनले भने, 'संविधान बन्दैन भने संघीयताका पक्षधरहरूले स्थानीय रूपमा सत्ता बनाउनतिर लाग्नुपर्छ । केन्द्रीय रूपमा नयाँ सरकार बनाउनतिर लाग्नुपर्छ । जनताको पक्षमा सरकार नभएसम्म संविधान बनाउने वाहियात कुरा हो ।'

उनले नयाँ पार्टी घोषणापछि अब देशव्यापी रूपमा संगठनको सञ्जाल बनाउने जनाए । 'राज्य र कानुन, देश र जनताको के गर्न सकिन्छ भन्ने सोच्छौं,' उनले भने, 'हामी के गर्नुपर्छ भन्ने कुरा ठोस परिस्थितिको ठोस विश्लेषण गर्छांै ।'

नवगठित पार्टीले नेपाली राजनीतिको तेस्रो धार बनाउने तर कसैसँग विलिन नहुने निष्कर्ष निकालेको छ । 'सहमति हुने विषयमा सबै साथीहरूसँग कुराकानी हुन्छ । हामी कसैसँग विलिन हुँदैनौ, कांग्रेस-एमालेसँग पनि विलिन हुँदैनांै,' उनले भने, 'नवसंशोधनवादीसँग पनि विलिन हुँदैनांै । नेपाली राजनीतिको स्वतन्त्र धारलाई अघि बढाउँछौं । तेस्रो धार बनाउँछौं ।'

नवगठित पार्टीले लडाकुको नयाँ संरचना बनाउने निष्कर्ष पनि निकालेको छ । 'कम्युनिस्ट पार्टी, जनमुक्ति सेना र नयाँ सत्तामा जनवादको विकास गर्न जरुरी भएको कुरा पनि आवश्यक ठहर्‍याइएको छ,' निष्कर्षमा भनिएको छ ।

भारतले राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने वैद्यले बताए । उनले भने, 'यहाँका दलालहरूको कठपुतली सरकार बनाएर आफ्नो स्वार्थसिद्ध गर्ने काम भारतले गरेको छ । हस्तक्षेप बन्द हुँदैन भने राष्ट्रिय स्वाधीनताको संघर्ष यहाँका दलालविरुद्ध केन्दि्रत हुन्छ ।'

एमाओवादीसँग एकताका लागि ढोका खुला नयाँ पार्टीले एमाओवादीसँग एकताका लागि ढोका खुला राख्ने निर्णय गरेको छ । फागुन १ गते महाधिवेशनका लागि एकताको ढोका खुला राख्ने भएको हो । 'यही २०६९ फागुन १ गते पार्टीको महाधिवेशन आह्वान तथा आयोजना गरिने निर्णय लिइएको छ,' वैद्य र महासचिव रामबहादुर थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'यसै क्रममा नवसंशोधनवादी समूहको नेतृत्वले आफ्ना गल्ती कमजोरी सच्याउँदै रूपान्तरित हुन सकेको स्थितिमा एकता महाधिवेशनसम्म एकताको ढोका खुला राख्ने निर्णय पनि लिइएको छ ।'

लोकतान्त्रिक गणतन्त्र नमान्ने माओवादीले लोकतान्त्रिक गणतन्त्रलाई अस्वीकार गर्ने निर्णयसमेत गरेको छ । लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको चुनवाङ बैठकको कार्यदिशा असफल भएको उसको भनाइ छ । 'चुनवाङ बैठकको राजनीतिक प्रस्तावमा लिइएको लोकतान्त्रिक गणतन्त्रको कार्यनीति रणनीतिक बन्न गएको साम्राज्यवादको विश्लेषण गर्दा लेनिन तथा माओको विश्लेषण धेरै पछाडि परेको र नयाँ ढंगले रणनीति तथा कार्यनीति विन्यास गर्न आवश्यक भएको कुरा देखाई रणनीतिक रूपमा लोकतान्त्रिक गणतन्त्रको पुरानै संसद्वादी राजनीतिलाई अवलम्बन गर्न पुगिएकामा त्यो गलत भएको निष्कर्ष निकालिएको छ,' निर्णयमा भनिएको छ, 'चुनवाङ बैठकयता अत्यन्तै हतारमा महान् जनयुद्ध, जनआन्दोलनका उपलब्धिहरूलाई स्थापित गर्ने कुराको सुनिश्चितताबिना बाह्रबुँदे, आठबुँदे, विस्तृत शान्ति सम्झौतालगायत सहमति कायम गरेर नेपाली क्रान्ति तथा जनयुद्धको ओज र गरिमा, नेपाली जनताको रूपान्तरणको आशा तथा अपेक्षामाथि गम्भीर आघात पुर्‍याउने काम गरिएको छ ।'

वैद्यले सर्वपक्षीय गोलमेच सम्मेलन, अन्तरिम सरकार गठन गरी संविधान निर्माणको काममा अघि बढ्ने बताए । उनले हाल भइरहेको सरकार निर्माण प्रक्रियामा सहभागी नहुनेसमेत जनाए ।

प्रकाशित मिति: २०६९ असार ६ ०८:४२

No comments: