Thursday, June 21, 2012

थापा-दाहाल फोन वार्ता

  • भिडन्तमा नजाने समझदारी

काठमाडौ, असार ७ -
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नवगठित माओवादी महासचिव रामबहादुर थापाले आ-आफ्ना कार्यकर्ताबीच झडपको स्थिति आउन नदिने समझदारी गरेका छन् ।

पार्टी फुटपछि जिल्ला-जिल्लामा कार्यकर्ताबीच झडप हुने देखिएकाले उनीहरूले फोन वार्ता गरी त्यस्तो समझदारी गरेका हुन् । 'विभाजित कार्यकर्ताबीच झडपको स्थिति आउन नदिन कुराकानी भएको हो,' स्रोतले भन्यो, 'दुवै पक्षबाट भिडन्तमा नजाने समझदारी भएको थियो ।' अध्यक्ष दाहालले बुधबार मात्रै भौतिक आक्रमणबाट जोगिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए ।

वैचारिक मतभेदका कारण अलग हुनुपर्ने बाध्यता बुझेर कम्तीमा पनि कार्यकर्ताबीच रक्तपात हुन नदिन दुवै पक्षले निर्देशन दिनुपर्ने समझदारी भएको हो । जिल्ला-जिल्लामा कार्यालय विवादको विषय झगडा गरेरभन्दा बहुमतका आधारमा वा अन्य समझदारीबाट सुल्झाउने पनि उनीहरूबीच कुराकानी भयो । कार्यालय विभाजनबारे मापदण्ड बनाउन दुवै नेता सहमत भएको स्रोतले जनायो ।

बिहीबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठनको कार्यालयका विषयमा झन्डै झडप भएको थियो । प्रहरी आएकाले मात्र एमाओवादी र नवगठित माओवादी कर्मचारी संगठनका सदस्यबीच झडप हुन पाएन । नवगठित माओवादीमा लागेका संगठनका अध्यक्ष रुक्म लामिछानेले विधानविपरीत आफू र अर्को एक जनालाई कारबाही गरेको सूचना टाँसेपछि असामान्य अवस्था आएको जनाए । 'हामी बहुमत भएकालेे कार्यालयमा छौं । नक्कली विज्ञप्ति बनाएर हामीलाई कारबाही गरेको सूचना टाँसे' उनले भने ।' एमाओवादी पक्षका महासचिव ठाकुर देवकोटाले आफ्नो पक्षमा बहुमत भएकाले कार्यालय आफ्नै हुनुपर्ने दाबी गरे ।

यसैबीच माओवादीका भ्रातृ संगठनले बिहीबार कुपन्डोलमा पत्रकार सम्मेलन गरी २६ भ्रातृ संगठनमध्ये १९ मा बहुमत भएको दाबी गरे । '१९ जनवर्गीय संगठनमा हाम्रो बहुमत छ,' पत्रकार सम्मेलनमा दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारले दाबी

गरे । संस्थापन पक्षमा विद्यार्थी बहुमत भएकाले वैद्य पक्षले डिल्लीबजारस्थित कार्यालय छाडेका छन् । क्रान्तिकारी पत्रकार संघले विज्ञप्ति जारी ५१ सदस्यीय केन्द्रीय समितिमा रहेका ४१ जना एमाओवादीमा रहेको जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालय  एमाओवादीको नियन्त्रणमा छ भने कुपन्डोलमा रहेका नेवा, जातीय/क्षेत्रीय मोर्चालगायत कार्यालय र बुद्धनगरस्थित दलित, महिलाको कार्यालय नवगठित माओवादीको नियन्त्रणमा छ ।

प्रकाशित मिति: २०६९ असार ८ ०८:५१

No comments: