Monday, August 8, 2011

बाबुरामले देखे सहमतीय सरकारको संभावना

गंगा बिसी
काठमाडौ, श्रावण २४ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले बहुमतीय सरकारले शान्ति र संविधान निष्कर्षमा नपुर्‍याउने भन्दै आफू त्यस्तो सरकारको प्रधानमन्त्री नबन्ने बताएका छन् ।
प्रधानमन्त्री झलनाथ खनालले साउन २८ मा राजीनामा दिने तयारी गरिरहेका बेला भट्टराईले त्यसपछि राष्ट्रिय सहमतिको सरकार आफ्नै नेतृत्वमा बन्ने दाबीसमेत गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बन्ने आधारका रूपमा उनले लडाकु पुनर्वर्गीकरण र अन्तर्राष्ट्रिय परिस्थितिको अनुकूलतालाई प्रस्तुत गरेका छन् ।
भट्टराईलाई माओवादीले राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिसकेको छ । कांग्रेसले भने शान्ति प्रक्रिया ठोस रूपमा अघि बढे भट्टराईभन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नै राष्ट्रिय सहमतिको प्रधानमन्त्री प्रस्ताव गर्ने तयारी गरेको छ ।
भट्टराईले सोमबार केही संवाददातासँग आफू बहुमतीय सरकारको पक्षमा नरहेको बताएका हुन् । 'म बहुमतीय सरकारको प्रधानमन्त्री बन्ने पक्षमा छैन,' उनले भने, 'यसबारे पछि मेरो व्यवहारबाट हेरे भइहाल्यो । राष्ट्रिय सहमतिमा सबैले सहमति जनाए ठीकै छ । पार्टीले पनि मलाई प्रस्ताव गरेको छ । बहुमतीय सरकारबाट समस्या समाधान हुँदैन ।'
उनले माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने आधार तयार भएको दाबी पनि गरे । 'भदौ १४ अघि शान्ति, संविधान र राष्ट्रिय सरकारका विषयमा सहमति बन्छ । प्याकेजमा सहमति बन्छ र त्यसपछि राष्ट्रिय सहमतिको सरकार बनेर प्रक्रिया अघि बढ्छ,' उनले भने । 'अनौपचारिक ढंगले दुई पक्षीय कुराकानी सकारात्मक छन् । सेना समायोजनको मुद्दामा पनि सहमतिनजिक पुगेका छौं ।'
उनले समायोजन मोडालिटी, मापदण्ड, संख्या र पुनःस्थापना प्याकेजमा सहमति हुनेबित्तिकै प्रक्रिया अघि बढ्ने जनाए । 'लडाकु पुनर्वर्गीकरण सुरु हुनेबित्तिकै माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्छ,' उनले भने । उनले प्याकेजमा सहमति हुने वातावरण बढ्दै गएको विश्लेषण आफूले गरेको पनि बताए ।
'म १२ बुँदेदेखि भित्री, बाहिरी वार्ता प्रक्रियामा सहभागी हुँदै आएकाले त्यो कसरी अगाडि बढ्छ, कहाँ/कहाँ गाँठा पर्छन् र फुक्छन् ? ज्ञान छ,' उनले भने, 'त्यही आधारमा वस्तुसंगत ढंगले भनिरहेको छु । विभिन्न राजनीतिक शक्तिहरू, विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिहरूको बीचमा कस्तो
खालको संवाद चलिरहेका छन् र अन्त्यमा के परिणाम निकाल्छ भन्ने आंकलन गर्न सकिन्छ । त्यो आधारमा मैले भनेको छु ।'
प्रधानमन्त्री खनालले राजीनामा दिएपछि सहमतिको सरकारको वातारण बन्ने भट्टराईको भनाइ छ । 'खनालले राजीनामा दिएपछि सहमतिको वातावरण बिग्रँदैन बरु वातावरण बन्छ । उहाँले राजीनामा गरेर राष्ट्रिय सरकार बन्ने हो ।
राजीनामा नदिए राष्ट्रिय सरकार बन्ने कुरा भएन नि,' उनले भने, 'जुन ढंगले विभिन्न कुराकानी चलिरहेका छ, राजीनामाले थप गति दिन्छ । किनभने पाँचबुँदे सहमति अनुसार सेना समायोजन, संविधान निर्माण र राष्ट्रिय सरकार जोडिएकै विषय हुन् ।'
उनले कांग्रेससमेत माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्नेमा सकारात्मक भएको बताए । 'कांग्रेसले सेना समायोजन प्रक्रिया पूरा नभएसम्म आफूलाई दिए हुन्थ्यो भन्ने कुरा गरेको छ । तर उसले विस्तारै के बुझ्दै गएको छ भने शान्ति प्रक्रिया पूरा गर्न माओवादीको नेतृत्वको राष्ट्रिय सरकार हुँदा जति सहज हुन्छ, अरूको नेतृत्वमा त्यति सहज हुँदैन,' उनले भेन ।
संविधानसभाको म्याद सकिनुअघि नमिलेका प्रक्रियाबारे पनि सहमति गर्न सकिने उनको तर्क छ । 'संविधानको विषयमा संघीय ढाँचामा पुनर्संरचनाको पक्ष बाँकी हो, सबै सहमत हुन नसके त्यसमा हाम्रो पनि प्रक्रियागत सहमति हुन सक्छ,' उनले भने, 'त्यसपछि प्रक्रिया अघि बढ्छ । छिट्टै प्याकेजमा विश्वास गर्ने वस्तुगत आधार छ ।' संविधानसभाको म्याद थपिनेमा पनि भट्टराई ढुक्क देखिए ।
'संविधानसभा पक्षमा नभएका एकथरी तत्त्वहरू भंग गर्ने प्रयत्न गरिरहेका छन्,' उनले भने, 'तर सबै पार्टीभित्र अत्यधिक मत संविधानसभाबाट संविधान बन्ने पक्षमा भएको हुनाले तत्काल विघटनको सम्भावना कम छ ।'

प्रकाशित मिति: २०६८ श्रावण २४ १२:३१


No comments: