६५ पुसमा पार्टी एकीकरणपछि माओवादीको उच्च तहमा एक नयाँ नेता चयन भए, ती थिए- नारायणकाजी श्रेष्ठ । त्यतिबेला १० वर्षे सशस्त्र युद्धमा होमिएका कतिपय नेता आश्चर्यमा समेत परेका थिए । तिनै नेताले हाल उपाध्यक्ष श्रेष्ठलाई सरकारको उपप्रधान तथा गृहमन्त्रीका रूपमा पार्टी नेतृत्व गरी सरकारमा पठाएका छन् । तल्लो पदका स्थायी समिति सदस्य कृष्णबहादुर महरालाई फिर्ता बोलाएर उनले सरकारमा माओवादीको नेतृत्व गरेका छन् । उनलाई उपाध्यक्षद्वय मोहन वैद्य, बाबुराम भट्टराई र महासचिव रामबहादुर थापाको विशेष पहलमा पार्टीको नेतृत्व गर्न सरकारमा पठाइएको हो । त्यसको पछाडि पनि छुट्टै कथा छ ।
वैद्य, भट्टराई र थापाबीच कार्यविभाजनबारे गठबन्धन बनेपछि श्रेष्ठको निवास ललितपुर, झम्सिखेलमै गएर उनलाई फकाइएको थियो । तीन वरिष्ठ नेताको आग्रहमा अध्यक्ष पुष्पकमल दाहालले उनलाई सरकारमा पठाउने प्रस्ताव गरेका थिए । आफूलाई मन नपरे पनि वैद्य, भट्टराई र थापाको दबाबमा दाहालले यो निर्णय गरे, जुन निर्णयले दाहाल निकट नेताहरूलाई असन्तुष्टसमेत बनायो । 'पार्टीको निर्णय कार्यान्वयन गर्न सरकारमा गएको हुँ', श्रेष्ठले भने, 'त्यस्तो पदको भोगी भएर होइन ।'
२०४६ सालको जनआन्दोलनपछि १८ वर्षको भूमिगत र अर्ध भूमिगत जीवनपछि उनी २०६५ जेठ १४ गते राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक भएका थिए । यद्यपि त्यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दर्जनौंपटक गइसकेका थिए । सार्वजनिक भएपछि धेरैले उनलाई माओवादी अध्यक्ष दाहालको 'फोटोकपी' भनी टिप्पणी पनि गरे, तर श्रेष्ठ त्यो कुरा ठाडै अस्वीकार गर्छन् । 'कतिपय अध्यक्ष प्रचण्डका कार्यशैली मसँग मिल्छन्, कतिपय मेरो कार्यशैली उहाँसँग मिल्छ', उनले भने, 'यसलाई कसको फोटोकपी भन्ने ?'
२०५१ सालमा माओवादी अध्यक्ष दाहाल र निर्मल लामाबीच फुट हुँदा लामा समूह वा एकता केन्द्रको महासचिवको जिम्मेवारी श्रेष्ठले नै पाए । त्यतिबेला उनी ३४ वर्षका मात्रै थिए । ०५१ देखि ०५९ सालसम्म उनले नै एकता केन्द्रको महासचिवको हैसियतले पार्टी प्रमुखको भूमिका निर्वाह गरे । त्यही बीचमा मोहनविक्रम सिंहसँग पार्टी एकता हुँदा उनी सहमहामन्त्री रहे भने ०६३ सालमा उक्त पार्टीमा पुनः विभाजन भएपछि उनी एकता केन्द्रको महासचिवको हैसियतमा रहे ।
माओवादीले ०५२ सालमा सशस्त्र युद्ध सुरु गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएपछि तत्कालीन एकता केन्द्र विभाजित भएको थियो । एकता केन्द्रको नेतृत्व श्रेष्ठले गरेका थिए भने माओवादी पार्टी गठन गरी दाहालले नेतृत्व गरेका थिए । युद्ध सुरु गर्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति नभएको अडानमा श्रेष्ठ थिए ।
युद्धमा नहोमिए पनि उनी अरू माओवादी नेताभन्दा कम व्याख्या गर्दैनन् । एक माओवादी नेताले व्यंग्य कस्दै भने, 'नारायणकाजी हामीभन्दा कडा माओवादी बन्नुभएको छ, उहाँ हामीभन्दा बढी क्रान्तिकारी हुनुभएको छ । उहाँ पो असली माओवादीजस्तो देखिनुहुन्छ ।'
श्रेष्ठलाई उच्चतहमा पुर्याउने श्रेय अध्यक्ष दाहाललाई जान्छ, किनभने पार्टी एकीकरण हुने बेला उनी र श्रेष्ठबीच घनिष्ठता उत्कर्षमा थियो । श्रेष्ठ सार्वजनिक हुने बेला दाहालको भनाइले धेरै संकेत गरेको थियो । 'जनयुद्धमा प्रवेश गरेपछि पनि उहाँसँग मेरो कहिल्यै अलग्गिएको महसुस भएन । उहाँले जनयुद्ध रक्षाका लागि आफ्नो ठाउँबाट उल्लेखनीय सहयोग पुर्याउनुभयो', दाहालले त्यसबेला भनेका थिए, 'मैले पनि उहाँको पार्टीमा भइपरी आउने समस्या हल गर्न धेरै प्रकारको मद्दत गरेँ । एउटा कमरेडले गर्ने व्यवहार मेरोतर्फबाट अधिकतम भयो भन्ने लाग्छ । त्यो विश्वास उहाँ र म दुवैमा छ ।'
पार्टी एकीकरण हुनुअघि दाहाल र श्रेष्ठबीच पटक-पटक भेटवार्ता भएको थियो । 'हाम्रो भेट भारतमा भूमिगत रहँदा पनि हुन्थ्यो । सिलिगुडी, गोरखपुर, लखनऊ, पञ्जाव हुँदै दिल्लीसम्म हाम्रा थुप्रै बैठक भए । देशभित्र पनि लगातार भेटघाट भए', दाहालको भनाइ छ, 'रोल्पामा मात्रै पनि धेरैपटक भेटघाट भएका छन् । यसकारणले हामीले जनयुद्धमा भएर पनि कहिल्यै अलग पार्टीको जस्तो महसुस गरेनौं ।'
वैद्य, भट्टराई र थापासँग गठबन्धन गरेपछि पछिल्लो समयमा भने श्रेष्ठले दाहालको विश्वास गुमाउँदै गएका छन् । त्यसो त वैद्य-भट्टराई पक्षसँग अस्थायी गठबन्धन भएको मान्न सकिन्छ ।
एक वर्षअघि असारमा वैद्य-भट्टराईको गोंगबुको गोप्य भेलामा श्रेष्ठ उपस्थित भएका थिए । त्यसपछि उनले गोप्य भेलाका सबै कुरा दाहाललाई बताइदिएपछि दाहाल र वैद्य-भट्टराईको सम्बन्ध चिसिएको थियो ।
श्रेष्ठले पछिल्लो गठबन्धन पार्टी एकताका लागि गरेको दाबी गरे । 'पछिल्लो समयमा पार्टी एकताका लागि सहकार्य भएको हो', उनले भने, 'यो अध्यक्षविरुद्धको मोर्चाबन्दी थिएन । अहिले पनि अध्यक्षकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्छ ।'
कांग्रेस, एमाले लगायत सात राजनीतिक दलबीच नयाँदिल्लीमा १२ बुँदे समझदारीका लागि श्रेष्ठको भूमिका उल्लेख्य थियो । 'सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी गर्नका लागि रोल्पादेखि दिल्लीसम्म मिहिनेत गर्नुपर्यो', उनको भनाइ छ, 'संसदवादी दल र प्रचण्डसँग सम्बन्धकै कारण यो सम्भव भएको हो ।' माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि दाहाल र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच समन्वय गरेका थिए । तर आफ्नो जीवनको अन्तिम कालखण्डमा कोइरालाले श्रेष्ठलाई विल्कुलै विश्वास गर्न छाडेका थिए ।
आफ्नो खास विचार नभएका नेताको आरोप उनले खेप्नुपरेको छ । उनकै सहकर्मी नेताहरूले समेत उनलाई 'जता पनि ठिक्क हुने' नेताका रूपमा चित्रण गर्छन् । तर उनले त्यसलाई अस्वीकार गर्दै विचार र राजनीतिलाई केन्द्रमा राखी काम गरेको बताए । 'मेरो आफ्नो विचार नभएको भन्ने सही होइन', उनले दाबी प्रस्तुत गरे, 'मैले राजनीति र विचारलाई केन्द्रविन्दुमा राखेर काम गरेको छु । राजनीतिक संकटको निकास संविधानसभा हो भनेर माओवादी र दलहरूबीच सहकार्य गर्ने नेता मनै हुँ ।'
श्रेष्ठसँग करिब एक दसक पार्टीमा काम गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने उनलाई 'राजनीतिक व्यापारी'को संज्ञा दिए । 'नारायणकाजी राजनीतिक व्यापारी हुन्', उनले भने, 'उनी जुन पार्टीमा बसे पनि पद र प्रतिष्ठालाई मुख्य ध्यान दिन्छन् । उनको नीति र सिद्धान्त केही हुन्न ।' माओवादीभित्र पनि श्रेष्ठलाई 'चलाख' नेताका रूपमा लिइन्छ । 'उहाँ चलाख राजनीतिज्ञ हुनुहुन्छ', प्रवक्ता दिनानाथ शर्माको भनाइ छ ।
गोरखा, जौबारीको एक व्यापारिक परिवारमा ५१ वर्षअघि जन्मिएका श्रेष्ठ कम्युनिष्ट आन्दोलनमा लाग्नु अघि कांग्रेस कार्यकर्ता थिए । उनी ०३३ देखि ०३७ सालसम्म कांग्रेसको विद्यार्थी संगठनमा बसेर काम गरेका थिए । 'कांग्रेस र राजाको सम्बन्धका कारण मलाई मनपरेन', उनले भने, 'प्रजातन्त्रका कुरा गर्ने तर सामन्तवादसँग साँठगाँठ गरेकाले कांग्रेस छाडेको हो ।' नेविसंघमा हुँदै उनी जेल पनि परेका थिए । व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेका श्रेष्ठ ०३७/३८ सालतिर बालाजुस्थित सिद्धार्थ वनस्थलीमा गणित पढाउँथे । उनले क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति भाग- १, माघ- १९ र क्रान्तिकारी कार्यनीति, माओवादी र माओवादी जनयुद्धबारे, क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति भाग- २ पुस्तक लेखेका छन् ।
५१ वर्षीय श्रेष्ठ अविवाहित छन् । उनले विवाह नगर्नुको कारण प्रस्ट्याए, 'म युवा अवस्थामा हुँदा साथीहरू अधबैंसे भइसकेका थिए । मेरो ध्यान क्रान्ति र आमूल परिवर्तनतर्फ नै गयो । विवाहतिर ध्यानै गएन ।' उनले अब विवाह नगर्ने मनस्थिति बनाइसकेका छन् । उनले थपे, 'अब विवाह नगर्ने मनस्थितिमा पुगेको छु ।' संविधानसभाको सदस्य र संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठ आफ्नो कमजोरी यसरी औंल्याउँछन्, 'म कहिलेकाहीँ चाहिनेभन्दा बढी आक्रोशित हुन्छु । कतिपय विषयमा संयम हुनुपर्ने हो । अर्को कमजोरी गीत-संगीत सुन्ने, चलचित्र हेर्नेतिर ध्यान नदिनु पनि हो जस्तो लाग्छ ।' उनको विशेषताचाहिँ सञ्चारमाध्यममा निरन्तर आउनु र कहिलेकाहीँ पार्टी प्रवक्तालाई पनि उछिन्नु हो ।
No comments:
Post a Comment