Monday, August 8, 2011

Prachanda pointed to Priminister JN Khanal

  • पहिलो गल्तीः प्रधानमन्त्रीको विशेषाधिकारलाई नजरअन्दाज गरी मन्त्रिमण्डल पुनर्गठन तथा शपथ गराउने विषयलाई कांग्रेस र आफ्नो पार्टीमा लगेर छलफल गराउनु

  • दोस्रो गल्तीः परामर्शबिना समयसीमा तोकेर राजीनामा दिने एकल घोषणा गर्नु

  गंगा बीसी
काठमाडौ, श्रावण २३ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री झलनाथ खनालको आफ्नै दुई मुख्य कमजोरीले राजीनामा दिनुपर्ने स्थिति आएको बताएका छन् ।
माओवादी मुख्यालयमा आइतबार बसेको स्थायी समिति बैठकमा राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै दाहालले 'राजीनामाको कारक खनाल आफैं भएको' खुलाएका हुन् । प्रधानमन्त्रीको विशेषाधिकारलाई नजरअन्दाज गरी मन्त्रिमण्डल पुनर्गठन तथा शपथ गराउने विषयलाई कांग्रेस र आफ्नो पार्टीमा लगेर छलफल गराउनु र परामर्श बिना समयसीमा तोकेर राजीनामा दिने एकल घोषणा गर्नु खनालको कमजोरी भएको उनले बताए । माओवादीसँग कुनै सल्लाह नगरी प्रधानमन्त्रीले राजीनामा दिने समयसीमा ताकेको जानकारी अध्यक्ष दाहालले बैठकमा दिएका थिए ।
'झलनाथजीले सत्तासाझेदारसँग सल्लाह नगरी राजीनामा दिने कुरा गर्नुभयो भन्ने जानकारी अध्यक्षबाट पाइयो,' माओवादी स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले भने, 'शान्ति प्रक्रियाबारे ख्यालै नगरी माओवादीले सबै गरिदिनुपर्छ भनेर राजीनामाको समयसीमा तोक्नुभयो, उहाँले माओवादीलाई नजरअन्दाज गरेको पाइयो ।'
स्थायी समिति सदस्यहरूले खनालले मिति ताकेरै राजीनामा दिने सार्वजनिक अभिव्यक्तिबारे दाहालसँग जानकारी माग गरेपछि उनले यस्तो बताएका हुन् । दाहालको भनाइ उद्धृत गर्दै अर्का स्थायी समिति सदस्यले कान्तिपुरसँग भने, 'उहाँ (खनाल) ले गल्ती गर्नुभयो तर हामीले शान्ति प्रक्रियाका काम त्यसअघि बढाउनुपर्ने अवस्था छ ।'
दाहालले प्रधानमन्त्री खनालको आफ्नै कारणले राजीनामा दिने अवस्था सिर्जना भएको उल्लेख गर्दै चाहेर पनि रोक्न नसक्ने बताएका थिए ।
कांग्रेसले समेत खनालले राजीनामा दिएपछि मात्र शान्ति प्रक्रिया अघि बढ्ने बताइरहेकै बेला माओवादीले त्यसअघि प्रक्रिया अघि बढाउने तयारी गरेको हो । खनालले आफंैले राजीनामा दिने समयसीमा नतोकेको भए उचित हुने थियो भन्दै दाहालले खनालको ध्यानाकर्षण गराइसकेका छन् । तीन पार्टीको बैठकमा दाहालले खनालले राजीनामा नदिने प्रश्नै नभएको भन्दै शान्ति प्रक्रिया अघि बढाउन कांग्रेसलाई आग्रह गरिसकेका छन् ।
 दाहाल निकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले भदौ १४ भित्र लडाकुको पुनर्वर्गीकरण गर्ने निर्णय गरिसकेको बताउँदै खनालको त्यसअघि राजीनामा दिने भनेर माओवादीलाई अल्टिमेटम दिने काम गलत भएको टिप्पणी गरे ।
'प्रधानमन्त्रीले शान्ति प्रक्रिया अघि बढाउने सम्बन्धमा माओवादीलाई अल्टिमेटम दिएर दबाब दिन खोजेको देखियो,' उनले भने, 'जुन गलत छ, शान्ति प्रक्रिया माओवादीका कारण रोकिएको होइन । उहाँले राजीनामा दिने अवस्था पनि आफैंले पैदा गर्नुभएको हो ।'
जेठ १४ मा संविधानसभा म्याद थप्दा प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त गर्ने हस्ताक्षर गरिसकेकाले हाल आफैंले समयसीमा तोकी सत्तासाझेदारलाई अल्टिमेटम दिनु औचित्य नभएको सापकोटाले बताए । 'दलहरूबीच सहमति भए पनि नभए पनि प्रधानमन्त्रीले राजीनामा दिने अवस्था हो,' उनले भने, 'सत्तासाझेदार दललाई शान्ति प्रक्रिया अघि बढाउन अल्टिमेटम दिनुको औचित्य छैन ।'
बैठकमा प्रधानमन्त्रीको राजीनामाको समयसीमाभित्र शान्ति प्रक्रिया कसरी अघि बढाउन सकिने विषयमा छलफल भएको स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलले जानकारी दिए । बैठकमा दाहालले लडाकु पुनर्वर्गीकरण प्रक्रिया अघि बढाउने बताएपछि उनी चिनियाँ संस्थाको बैठकमा भाग लिन दुईदिने भ्रमणमा मलेसियाको क्वालालम्पुर जाँदैछन् । यसबीचमा सेना समायोजन प्रक्रिया अघि बढ्ने छैन ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले माओवादीबाट शान्ति प्रक्रिया सम्बन्धी काम छिटो होस् भनेर समयसीमा तोकेको बताए । 'प्रधानमन्त्रीले २८ गतेको समय माओवादीले छिटो काम गरून् भनेर तोक्नु भएको हो, शपथको सम्बन्धमा माओवादीले सुरुमा आफ्नो भागको भन्दा धेरै मन्त्री सिफारिस गर्‍यो तर पछि सच्यायो,' उनले भने, 'सामान्यतया सहयात्री दलले मन्त्रीहरू फेर्न चाहँदा प्रधानमन्त्रीले सल्लाह नगरे पनि हुने हो ।  पाँचबुँदे सहमति भइसकेकोले मात्र छलफल गर्नुभएको हो ।'

प्रकाशित मिति: २०६८ श्रावण २३ १२:३

No comments: