Wednesday, August 10, 2011

किन लागे प्रचण्ड लुम्बिनीको विकासमा ?

 
गंगा बीसी

काठमाडौ, श्रावण २५ -गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई 'मुस्लिमको मक्कामदिना' र 'क्रिस्चियनको भेटिकनसिटी' जस्तै बनाउने परिकल्पनासहित ३ अर्ब डलर सहयोग घोषणा गरेको एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसन -एपेक) को बैठकमा भाग लिई स्वदेश फर्केका माओवादी अध्यक्ष पुष्पकमल दाहालले उक्त सहयोगलाई सरकारी माध्यमबाट प्रयोग गरिने बताएका छन् ।

उनले बैठकमा उक्त चिनियाँ कम्पनीको मात्र नभएर अन्य देशका संस्थाको प्रतिनिधिको समेत सहभागिता रहेको बताए । लुम्बिनीलाई विश्वस्तरको पर्यटकीय क्षेत्र बनाउन मलेसियामा छलफल केन्दि्रत भएको जानकारी उनले दिए ।

'यसलाई विश्वस्तरको धार्मिक र पर्यटकीय स्थलका रूपमा विकास गर्ने छलफल भएको छ,' मलेलियाबाट र्फकने क्रममा विमानस्थलमा दाहालले भने, 'कम्पनीमा चाइनिज मात्रै हो कि भन्ने चर्चा चल्यो । चिनियाँहरू मात्रै होइन, अमेरिका, अस्ट्रेलिया, ताइवानदेखि विभिन्न देशका प्रतिनिधि हुनुहुन्छ ।' दाहालले यसअघिका बैठकपछि भने यसबारे खासै चर्चा गर्दैनथे । राजनीतिक संकट जारी रहेका बेला दाहाल पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरासँग सोमबार बैठकमा भाग लिन मलेसिया गएका थिए । यसअघिका एपेक बैठकमा पनि दाहालसँग महरा गएका थिए ।

दाहालले आफूसँगै एपेकका प्रतिनिधिहरू पनि नेपाल भ्रमणमा आएको जानकारी दिए ।  सरकारलाई जानकारी नभई अर्बौं लगानी हुने चर्चा चल्न थाले पनि दाहालले अब सरकारको स्वीकृतिबाटै प्रक्रिया अघि बढ्ने बताए ।

'सरकारसँग सम्बन्धित होइन कि भन्ने चर्चा चलेको पाइयो, सरकार सहभागी नभई र पारदर्शी नभई लुम्बिनीको विकास हुने कुरा होइन,' उनले भने, 'तर तयारीको एउटा चरणमा विभिन्न रूप हुन्छन् । विभिन्न संघसंस्था र प्रतिनिधिले तयारीको काम गर्छन् । यो तयारीभन्दा बढी केही होइन । सरकारको सहभागिता, स्वीकृति र सक्रियताबिना अगाडि बढ्ने कुरै होइन ।'

चिनियाँ संस्थाले मुलुकको दक्षिणी भेगमा यति ठूलो लगानी गर्न लागेका बेला उनले भारतले पनि लुम्बिनीको विकासका लागि सहयोग गर्नुपर्ने बताए । 'चीन र भारत मिलेर विश्वस्तरको केन्द्र बनाउन सकिन्छ भन्ने चर्चा भयो । अहिले प्रक्रिया अघि बढ्दै छ,' उनले थपे, 'लुम्बिनी विकासलाई विवादको विषयवस्तु बनाउनुभन्दा छिमेकीलगायत विश्वभरिका देश र यसको विकास गर्न इच्छुक संस्थाको सहयोग जुटाउनुमा दीर्घकालीन हित छ । लुम्बिनीलाई रणनीतिक बिन्दु बनाएर सिंगै नेपालको विकास गर्नुपर्छ ।'

के हो एपेक ?

२०६७ असोजमा स्थापना भएको एपेकको मुख्य कार्यालय चीनको बेइजिङमा छ भने त्यसको अन्य कार्यालय ताइवान, हङकङ र चीनकै गोञ्जाओमा छ । एपेकको वेबसाइटका अनुसार एसिया क्षेत्रको पूर्व र सक्रिय राजनीतिक व्यक्तिहरू, परिचित विज्ञहरूबीच विकास, राजनीति, आपसी सम्बन्ध, कूटनीतिलगायत विषयमा आदानप्रदान र छलफल गर्ने संस्था हो । यसको मुख्य उद्देश्य खुला छलफलबाट विचारको आदानप्रदान गरी विश्वमा नयाँ ढंगले अघि बढ्ने रहेको छ । लुम्बिनीलाई 'मुस्लिमको मक्कामदिना' र 'क्रिस्चियनको भेटिकनसिटी जस्तै बनाउने परिकल्पना बुनिएको ३ अर्ब अमेरिकी डलर सहयोग एपेकका ९ सहअध्यक्षमध्ये माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वयुवराज पारस शाहसहित आठ जना गैरचिनियाँ छन् ।

कार्यकारी उपाध्यक्ष एक जना मात्र चिनियाँ व्यक्ति हुन् । सहअध्यक्षहरू प्रायःजसो धनाढ्य छन् भने पाँच जना व्यवसायी हुन् । व्यवसायीमध्ये तीन जना अमेरिकी, एक बेलायती र एक मलेसियाली छन् । नेपाल र थाइल्यान्डका एक/एक राजनीतिज्ञ छन् । बाँकी दुईमध्ये कूटनीतिज्ञ र पूर्वयूवराज हुन् । एपेकको बैठक दुई पटक मलेसिया, एक/एक पटक सिंगापुर र बैंककमा भएका थिए ।



दाहालको भ्रमण श्रंृखला
२०६७ असोज १३ गते मलेसिया
२०६७ चैत २ गते िसंगापुर
२०६८ जेठ १ गते बैंककमा
२०६८ साउन २३ गते मेलेसिया



पार्टीलाई जानकारी छैन’

अध्यक्ष दाहाल सहअध्यक्ष संलग्न रहेको संस्थाबारे पार्टीमा खास जानकारी नभएको स्थायी समिति सदस्य देव गुरुङले बताए । उनले ठूलो व्यापारिक व्यक्ति संलग्न रहेको भनिएको संस्थामा नियुक्त हुँदा पार्टीले अनुमोदन नगराएको जानकारी दिए ।

'अध्यक्षको भ्रमणबारे पार्टीमा छलफल र जानकारी केही भएको छैन,' उनले कान्तिपुरसँग भने, 'आफंै निर्णय गरी जाँदै-आउँदै गर्नुभएको छ ।' उनले संस्था र बैठकबारे दाहालले पार्टीमा जानकारी नगराएको पनि उल्लेख गरे । 'सामूहिक नेतृत्व पद्धतिअनुसार कुनै पनि संस्थामा नियुक्ति हुँदा पार्टीले अनुमोदन गर्नुपर्ने हो,' उनले भने, 'उहाँले अनुमोदन पनि गराउनुभएको छैन । जानकारी पनि गराउनुभएको छैन ।' अन्य नेता विदेश भ्रमणमा जाँदा पार्टीमा निर्णय गराएर जाने गरेको उनले उल्लेख गरे । दाहाल यसअघि तीन पटक पार्टी निर्णयबिना एपेकको बैठकमा सहभागी भएको स्रोतले जनाएको छ ।

पार्टीमा भ्रमणबारे निर्णय नभएकाले उपाध्यक्षहरू मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा दाहाललाई स्वागत गर्न विमानस्थल नगएको एक नेताले बताए । दाहाललाई स्वागत गर्न उनीनिकट नेताहरू स्थायी समिति सदस्य वर्षमान पुन, पोलिटब्युरो सदस्यहरू जनार्दन शर्मा र शक्ति बस्नेत पुगेका थिए । दाहालले योसहित चौथो पटक सहभागी भइसकेका छन् ।

अध्ययनमा आयो एपेक टोली

माधव ढुंगाना

भैरहवा- लुम्बिनीमा ३ अर्ब अमेरिकी डलरको महत्त्वाकांक्षी परियोजना घोषणा गर्ने एसिया प्यासिफिक एक्सचेन्ज कोअपरेसन -एपेक) को आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला उसकै योजनामा एक विदेशी संस्थाले अत्याधुनिक सञ्चार सुविधासम्बन्धी प्रारम्भिक अध्ययन गरेको छ ।

एपेकसँग आबद्ध ताइवानको सञ्चारबारे ताइतुङ कम्युनिकेसन  कम्पनी लिमिटेड -टीसीसीएल) टोली मंगलबार अपराह्न यहाँ आई प्रारम्भिक अध्ययन गरेर बुधबार फर्केको हो । 'एपेकका लागि सञ्चारको काम गर्न हामी यहाँ आएका हौं,' कम्पनीका अध्यक्ष चिङ हङ लिले भने, 'एपेककै माध्यमबाट लुम्बिनीमा सञ्चारसम्बन्धी सहयोग गर्नेछौं ।'

टीसीसीएलले फाइवर अप्टिकलका माध्यमबाट लुम्बिनीमा सञ्चार सुविधा पुर्‍याउनेबारे अध्ययन गरेको उनले बताए । उसले टेलिफोन, सञ्चार सुरक्षा उपकरण, यातायात नियन्त्रणका लागि सञ्चार उपकरण र श्रव्यदृश्यसम्बन्धी अध्ययन गरेको थियो । 

चिनियाँ राजदूत याङ हाउलानले लुम्बिनीलाई चीनले सहयोग गर्ने परियोजनामा परराष्ट्र मन्त्रालयसँग समझदारी भएको मधेसी दलका नेतासँगको भेटमा मंगलबार उल्लेख गरेपछि यस परियोजनाको विश्वसनीयता बढ्न थालेको छ ।

चीनका जिआअे उनान, नेपालका तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वयुवराज पारस शाहसहित विश्वका एक दर्जन धनाढ्य व्यक्ति संलग्न एपेकले लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल, सडक, सञ्चार, विद्युत् रेलवेजस्ता पूर्वाधारलाई पहिलो चरणमा पूरा गर्ने उल्लेख गरेको छ । 'लुम्बिनीमा सञ्चारसम्बन्धी सहयोगका निम्ति ताइवानी संस्था आउनुले एपेकले गरेको घोषणाको विश्वास बढेको छ,' समूहलाई अवलोकन गराएका लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्र थापा मगरले भने ।


कान्तिपुरमा प्रकाशित मिति: २०६८ श्रावण २६ ०८:३८

No comments: