Saturday, August 13, 2011

प्रधानमनत्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीको राजीनामा सोमबार संसदको बैठकमा



प्रेस नोट
सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले २०६८ साउन १६ गते शान्ति प्रकि्रयाका मूलभूत कामहरुबारे साउन २८ गतेसम्म सहमति हुन नसकेमा प्रधानमन्त्रीको पदबाट राजीनामा दिने सार्वजनिक घोषणा गर्नुभएको सर्वविदितै छ । त्यसैअनुरुप साउन २५ गते व्यवस्थापिका-संसदमा उहाँले लिखित प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

शान्ति र संविधानको स्पष्ट उद्देश्य र घोषणाका साथ उहाँको नेतृत्वमा वर्तमान संयुक्त सरकारको गठन भएको थियो । उल्लिखित उद्देश्य हासिल गर्न राष्ट्रिय सहमति अपरिहार्य रहेको हुनाले विगत तीन वर्षदेखि उहाँले निरन्तर राष्ट्रिय सहमतिको औचित्यमा जोड दिँदै आउनुभएको कुरा पनि सबैलाई अवगत नै छ ।

यसै सिलसिलामा आज बिहान पनि तीन दलका प्रमुख नेताहरुको बैठकमा उहाँले प्रधानमन्त्रीको हैसियतमा शान्तिप्रकि्रया संविधान निर्माण सहमतीय सरकारको गठन र संविधानसभाको समयावधि बढाउनका लागि अविलम्ब सहमतिका लागि गम्भीरतापूर्वक प्रस्ताव गर्नुभयो तर कुनै सहमति हुन सकेन । तर आफू स्वयंद्वारा निर्धारित समय सीमाअन्तर्गत आज अन्तिम घडीसम्म पनि उहाँले विभिन्न पक्षहरुसँग छलफल र परामर्श गरिरहनुभएको छ । यस अवस्थामा आफ्नो घोषित प्रतिवद्धता व्यवस्थापिका-संसदको समेत विषय भएकाले सोलगायत आफ्ना सबै कुरा प्रधानमन्त्रीले सर्वाेच्च जनप्रतिनिधि संस्था व्यवस्थापिका-संसदको आगामी बैठकमार्फत् मुलुकका सामु राख्नुहुने भएको जानकारी गराउन चाहन्छु ।

२८ साउन २०६८ 

No comments: