Sunday, August 14, 2011

प्रधानमन्त्रीको राजीनामापछि अब कसको नेतृत्वमा सरकार ?

कान्तिपुर संवाददाता
काठमाडौ, श्रावण ३० - प्रधानमन्त्री झलनाथ खनालको राजीनामापछि अब आफ्नो नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने माओवादीले दाबी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान मधेसी मोर्चासहित बसेको तीन दल बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजन प्रक्रिया अघि बढाउन पार्टी तयार भएकाले उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सरकार निर्माणमा अन्य दल सकारात्मक हुनुपर्ने बताएका हुन् । 'अध्यक्षले सेना समायोजन र संविधान निर्माण प्रक्रिया अघि बढाउने पार्टीको निर्णय भएकाले बाबुरामजीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने प्रस्ताव राख्नुभयो,' सूचना तथा सञ्चारमन्त्री एवं पार्टी सचिव पोस्टबहादुर बोगटीले दाहाललाई उद्धृत गर्दै भने ।
यद्यपि शान्ति प्रक्रिया र संविधान निर्माणमा न्यूनतम सहमति नभई राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना कम भएको माओवादी विश्लेषण छ । 
'प्रधानमन्त्रीको राजीनामापछि पनि दलहरू गम्भीरतापूर्वक लागे खासै अप्ठ्यारो हुँदैन,' बोगटीले भने, 'शान्ति र संविधान निर्माण प्रक्रियामा एउटा बिन्दुमा सहमति भएपछि राष्ट्रिय सरकारमा जान सकिन्छ ।'
पार्टीले भदौ १४ गतेभित्र लडाकुको पुनर्वर्गीकरण र संविधानका मिलेका विषय समेटेर मस्यौदा लेख्न सुरु गर्ने प्रस्ताव राखेको उनले जनाए । 'यी विषयमा सहमति बने राष्ट्रिय सहमतिको सरकारको आधार बन्छ । यसका लागि तत्काल गृहकार्य सुरु गर्नुपर्छ,' उनले भने । बैठकमा नेताहरूले राजीनामापछि पनि छिट्टै सहमतिको सरकार बनाउन सकिने धारणा राखेको उनले जनाए ।
 अर्का सचिव सीपी गजुरेलले सहमतिको आधार तयार भइनसके पनि पार्टीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार निर्माणको प्रयास जारी राख्ने बताए । 'प्रधानमन्त्रीको राजीनामापछि मात्रै सहमतीय सरकार निर्माणको वातावरण बन्ने विभिन्न ठाउँबाट कुरा आएका छन्,' उनले भने, 'प्रधानमन्त्रीले राजीनामा दिएकाले पार्टीकै नेतृत्वमा नयाँ सरकार बनाउने हाम्रो प्रयास हुनेछ ।' उपाध्यक्ष भट्टराईले प्रधानमन्त्रीले राजीनामा दिएपछि सहमतिको सरकारको वातावरण बन्ने बताउँदै आएका छन् । भट्टराई स्वयं कांग्रेस र मधेसवादी दलसँग आफ्नो पक्षमा समर्थन जुटाउने गृहकार्यमा लागेका छन् । उनीनिकट नेताहरूले उनको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने सम्भावना बलियो भएको दाबी गरेका छन् । 'बाबुरामजीको नेतृत्वमा सहमतिको सरकार बन्ने बलियो सम्भावना छ,' पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले भने, 'त्यसका लागि गृहकार्य भइरहेको छ ।' 
दलहरूबीच सरकारमा सहमति जुटेन भने माओवादी बाध्य भएर बहुमतीय सरकारको बाटोमा जानुपर्ने हुन्छ । त्यस्तो सरकारको प्रधानमन्त्रीको उम्मेदवार को हुने भन्ने पार्टीले निर्णय गरिसकेको छैन । भट्टराईले सार्वजनिक रूपमै बहुमतीय सरकारको प्रधानमन्त्री नबन्ने बताएकाले अर्को व्यक्ति उम्मेदवार हुने सम्भावना छ ।

सरकारको नेतृत्वमा कांग्रेसको पनि दावी



काठमाडौ, श्रावण ३० - प्रधानमन्त्रीको राजीनामापछि कांग्रेसले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु गरेको छ । कांग्रेस सभापति सुशील कोइराला र उनका केही सहयोगीले माओवादी नेतृत्वसँग आइतबारै यसबारे अनौपचारिक छलफल थालेका छन् ।
राष्ट्रिय सहमतिको सरकारका लागि शान्ति प्रक्रिया अघि नबढुन्जेल कांग्रेस नेतृत्व स्वीकार गर्न र त्यसपछि माओवादी नेतृत्वमा जानेबारे छलफल भएको हो ।
'लडाकु समायोजन संख्या, मोडालिटी, मापदण्ड, तह मिलान र पुनःस्थापना प्याकेजमा सहमति भएर पुनर्वर्गीकरणको काम नहुँदासम्म कांग्रेस नेतृत्व स्वीकार्न हामीले आग्रह गरेका छौं,' एक कांग्रेस नेताले भने ।
तर माओवादी कांग्रेसको यो प्रस्ताव मान्न तयार छैन । आफ्नो नेतृत्वको सरकारले मात्रै शान्ति प्रक्रिया टुंग्याउने सक्ने तर्क अघि सार्दै माओवादीले बरु आफूलाई सघाउन कांग्रेससँग आग्रह गरेको छ । शान्ति प्रक्रिया यथास्थितिमा रहँदासम्म माओवादी नेतृत्व स्वीकार्न नसकिने, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले समेत माओवादी नेतृत्वमा सरकार बन्न नसक्ने कांग्रेसको ठहर छ ।
उसले सकेसम्म माओवादीसहितको आफ्नो नेतृत्वको राष्ट्रिय सरकारमा जोड दिने, त्यसमा सहमति जुट्न नसकेमा एमाले र मधेसी मोर्चाको सहयोगमा बहुमतीय भने पनि सरकारको नेतृत्व लिने रणनीति बनाएको छ । शान्ति प्रक्रियामा माओवादीले धोका दिएको निष्कर्षका साथ प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले समेत आफूलाई साथ दिने विश्वास कांग्रेसले लिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य रामशरण महत शान्ति प्रक्रिया र संविधान निर्माणको दायित्व पूरा गर्न राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने बताउँछन् । 'शान्ति प्रक्रिया ठोस रूपमा अघि नबढेको अवस्थामा माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था अहिले छैन, यो अवस्थामा कांग्रेसको स्वाभाविक दाबा रहन्छ र त्यही ढंगले पहल सुरु गर्छ,' उनले कान्तिपुरसँग भने ।
यता, कांग्रेसभित्रै प्रधानमन्त्री उम्मेदवारकै लागि नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेलबीच चर्को विवाद छ । संसदीय दलको नेताको हैसियत र आफूले अहिलेसम्म अवसर नपाएको तर्क गर्दै पौडेलले आफू नै प्रधानमन्त्रीको उम्मेदवार रहेको दाबा गर्दै आएका छन् । तर देउवाले आफू भएमा माओवादीले समेत साथ दिने तर्क गरेका छन् । पार्टी केन्द्रीय समितिबाट समेत उम्मेदवार हुन नसक्ने देखेपछि देउवाले सोमबारै संसदीय दलको नेताबाट पौडेललाई हटाउन अविश्वासको प्रस्ताव पेस गर्ने भएका छन् । त्यसको जानकारी देउवाले आइतबार सभापति कोइरालालाई भेटेर गराइसकेका छन् ।
कोइरालासँगको भेटमा देउवाले आफू प्रक्रियामा अघि बढ्न लागेको बताउँदै सहयोग गर्न आग्रह गरेका थिए । कोइरालाले भने, 'पौडेलजी मान्नु नभएकाले' सहमति गर्न नसकेको बताएका थिए । देउवा पक्षीय एक केन्द्रीय सदस्यका अनुसार बहुमत सभासदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी देउवा पक्षको छ ।
पौडेल पक्षीय नेताहरू भने आफ्नो पक्षमा बहुमत रहेकाले अविश्वासको प्रस्तावको सामना गर्ने तयारी गरिरहेका छन् । पौडेल निकट संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले बहुमत हस्ताक्षरको हल्ला बार्गेनिङ मात्रै रहेको बताउँदै अधिकांश सभासद अविश्वासको प्रस्तावको विरुद्धमा रहेको दाबी गरे


प्रधानमन्त्रीद्वारा राजीनामा


काठमाडौं, श्रावण २९ - आफ्नै पार्टीका शीर्ष नेताहरुको दबाब र शान्ति प्रक्रियामा माओवादी 'असहयोग' भएपछि अन्ततः प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री खनालले राति पौने ९ बजे शीतल निवास पुगेर राष्ट्रपति रामवरण यादवसमक्ष राजीनामा बुझाएका हुन् । उनले सोमबार शान्ति प्रक्रियामा प्रगति हुन नसकेकोबारे संसदमा स्पष्ट पार्ने छन् ।
पूर्वघोषणा अनुसार प्रधानमन्त्रीले दुई दिन ढिला गरी राजीनामा दिएका हुन् । पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री खनालले राजीनामा दिने घोषणा गरेका थिए ।
'प्रधानमन्त्रीले केन्द्रीय कमिटीमै राजीनामा दिने घोषणा गर्नुभएको छ,' बैठकपछि एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सञ्चारकर्मीसित भने, 'यस बीचमा शान्ति प्रक्रिया अगाडि बढ्न नसकेको समग्र पक्षबारे भोलि संसदमा सम्वोधन गर्नुहुनेछ ।'
राजीनामा दिने घोषणापछि सकिएको केन्द्रीय कमिटी बैठकबाट खनाल सोझै सरकारी निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि राष्ट्रपति रामवरण यादवसमक्ष आइतबार साँझ नै राजीनामा बुझाएका छन् ।
बैठकमा प्रधानमन्त्री खनालले पूर्व प्रतिबद्धताअनुसार राजीनामा दिने घोषणा गरेका थिए । 'हिजै पनि 'स्टेटमेन्ट' जारी गरिसकेको छु,' प्रधानमन्त्रीले केन्द्रीय कमिटी बैठक समापनमा भनेका थिए, 'आजै राष्ट्रपतिलाई राजीनामा बुझाउँछु, भोलि संसदमा सम्वोधन गर्छु ।'
पार्टी निर्णय नमानेको भन्दै खनाललाई राजीनामा दिन उनी अध्यक्ष रहेको एमाले शीर्ष नेताहरु माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले चर्को दबाब दिएको थियो । अझ माओवादीले पुराना फिर्ता बोलाएर पठाएका नयाँ मन्त्रीको शपथ रोक्न गरेको निर्देशन नमानेको भन्दै उनीमाथि दबाब झन् थपिएको थियो ।
माओवादी दबाबमा मन्त्रीहरुलाई शपथ खुवाएलगत्तै प्रधानमन्त्री खनालले बालुवाटारमा पत्रकार सम्मेलन गरी साउन २८ गतेसम्ममा शान्ति प्रक्रियामा ठोस प्रगति नभए राजीनामा दिने घोषणा गरेका थिए ।

कान्तिपुरमा प्रकाशित मिति: २०६८ श्रावण ३० ०८:२५ 

No comments: